दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित

103 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित भएको छ।  बल्खु, तीनकुने र हिजो सिफल क्षेत्रमा प्रदर्शन गरेका मेडिकल व्यवसायी प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताएको छ।

सूचना जारी गर्दै अभियानले आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ। तर, प्रसाईको कार्यक्रम भक्तपुरबाट काठमाडौंमा सरेको बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी छैन।

भक्तपुरमा कार्यक्रम राखेको जानकारी भए पनि स्थगित भएको र काठमाडौंको विभिन्न स्थानमा रहेको अभियानको कार्यक्रमबारे जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए।  कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ।

गत शुक्रबारपनि अभियानले प्रशासनसँगको समन्वयविना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले धमाधम प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। हिजो सिफलमा भएको प्रर्दशनमा भने प्रसाईले सम्बोधन गर्ने क्रममा काठमाडौं बासीले सहयोग नगरेको गुनासो गर्दै मेयर बालेन साहलाई प्रधानमन्त्री बन्ने अफर नै गरेका थिए।