पाकिस्तान । पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।
परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।
उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।
विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ ।
विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ने कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।
बिहानको २ः३० मा हमला सुरु गरेको तालीवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ ।
सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।
अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको विश्लेषकहरुले बताउँदै आएका छन् । पाकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।
इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्यपि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ ।
घटनाबारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।