रामचन्द्र रुपाखेती २६ मंसिर, थाक्रे थाक्रे गाउँपालिकाको आयोजनामा गत मंसिर २४ देखी २६ सम्म थाक्रे १० स्थित दोभाने खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २६ मंसिरमा सम्पन्न भएको छ । १८ बर्षमूनिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु विचहुने खेलकुद प्रतियोगिता अन्र्तगत थाक्रे गाउँपालिकाले कुल ४२ गोल्ड, ४२ रजत र ४२ कास्य पदकको लागि गरिएको प्रतिस्पर्धामा थाक्रे ६ महादेववेशीमा रहेको जनजागृति माध्यमिक विद्यालयले १७ स्वर्ण, ९ रजत र ७ कास्य सहित प्रथम, व्लुमिङ लोटस आ.मा.वि थाक्रे ८ ले १० स्वर्ण, ५ रजत र ९ कास्य सहित दोश्रो र केवलपुर हरिहर भोजकुमारी मा.वि ले ६ स्वर्ण, ११ रजत र ५ कास्य सहित तेश्रो स्थान हासिल गरेको थियो ।
जनजागृति माध्यमिक विद्यालयको यो पटकको जित संगै लगातार ३ पटक रनिङ शिल्ड विजेता भई शिल्डमाथी कब्जा जमाएको छ । प्रतियोगितामा सवै भन्दा बढि पदक विजेता जनजागृति मा.वि का सुमित तामाङलाई उत्कृष्ठ खेलाडी को रुपमा सम्मान गरिएको थियो । त्यस्तै समुह खेल तर्फ छात्र कवड्डी तर्फ धावा तामाङ, छात्रा तर्फ सरस्वती तामाङ, भलिवल छात्र तर्फ दिसाल मोक्तान र छात्रा तर्फ भावना थापा उत्कृष्ठ खेलाडी घोषित भई ट्रफि प्रदान गरिएको थियो । समापन कार्यक्रममा विजेता खेलाडी तथा विद्यालयलाई थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापाले शिल्ड तथा मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएका छन् भने समुह खेल तर्फ उत्कृष्ट खेलाडीहरु निर्णायकले दिएको निर्णयको आधारमा छनौट भई जिल्ल स्तरीय प्रतियोगितामा भाग लिनेछन् ।