ताइवानको राष्ट्रपतिमा लाई छिङ–थ निर्वाचित
179 पटक पढिएको
एजेन्सी । ताइवान (थाइवान)को राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका नेता लाई छिङ–थ निर्वाचित भएका छन्। ताइवानको निर्वाचन आयोगका अनुसार सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति समेत रहेका लाई राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन्।
ताइवानको दुई विपक्षी दल कुओमिन्ताङ र थाइवान पिपुल्स पार्टीले निर्वाचनमा पराजय भएको स्वीकार गरेसँगै सत्तारुढ दलले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतिमा विजयी हुने पक्का भएको गरेको हो। ताइवानको प्रथम महिला तथा वर्तमान राष्ट्रपति समेत रहेकी ६७ वर्षीया साई इङ वन आफ्नो दोस्रो कार्यकाल पूरा गरेपछि नियमानुसार अर्को कार्यकालका लागि निर्वाचन लड्न नपाउने भएपछि उपराष्ट्रपति लाईलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको थियो।
साई सन् २०१६ देखि लगातार दुई कार्यकाल राष्ट्रपति थिइन्। चीनको कट्टर विरोधीको रूपमा हेरिएका लाई निर्वाचित भएसँगै चीनलाई ठूलो झट्का लागेको छ।
आयोगले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सत्तारुढ दल डिपिपीले ५० लाखभन्दा बढी मत ल्याएको छ भने विपक्षी कुओमिन्ताङले ३९ लाख मत प्राप्त गरेको छ। दक्षिण सागरमा वर्चस्व राखेको चीनले ताइवान पनि आफ्नो नियन्त्रणमा आएमा समुद्रको अधिक क्षेत्रफल नियन्त्रण गर्ने योजनामा छ।
यसबाट समुद्री मार्गबाट हुने विश्व व्यापारमा पनि असर गर्न सक्नेछ। ताइवानमा राष्ट्रपतिको कार्यकाल ४ वर्षको हुने गरेको छ। नयाँ राष्ट्रपतिले २० मे २०२४ मा पदभार ग्रहण गर्नेछन्।