उत्तर कोरियाद्वारा विश्वकै तीव्र गतिको मिसाइल सफल परीक्षण
228 पटक पढिएको
काठमाडौं । उत्तर कोरियाले सोमबार विश्वकै सबैभन्दा तीव्र गतिको र लक्ष्यमा सटिक प्रहार गर्न सक्ने मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । यसलाई परमाणु हतियारबाट सुसज्जित गर्न सकिने सम्भावनासमेत रहेको बताइएको हो ।
किम जोङ उनले ‘सोलिड फ्युल्ड इन्जिन’ प्रयोग गरेर हाइपरसोनिक मिसाइललाई सफलतापूर्वक परीक्षण गरेको राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जानकारी दिएको छ । प्योङयाङले यस्तो प्रकारको क्षेप्यास्त्रको सफल परीक्षणको दाबी गरेको यो चौथो अवसर हो ।
दक्षिण कोरियाली सेनाले उक्त मिसाइल करिब १ हजार किलोमिटर उडेर कोरियन प्रायद्वीपको पूर्वपट्टी समुद्रमा खसेको बताएको छ । सेनाले यो प्रक्षेपणले प्रायद्वीपको शान्ति र सुरक्षामा चुनौती थपिएको बताएको छ ।
कोरियाले सन् २०२१ को सेप्टेम्बर २८ मा पहिलोपटक हाइपरसोनिक मिसाइलका परीक्षण गरेको थियो । त्यसपछि जनवरी २०२२ को सुरुवातमा उसले थप दुईपटक यस्तो परीक्षण गरेको थियो ।
आइतबारको प्रक्षेपणले उत्तर कोरियाले प्रविधिमा ठुलो फड्को मारेको देखाएको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ ।