कभर फोटो

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

By Dhading News

April 30, 2024

२०८१ बैशाख १८ ,काठमाण्डौं । इलाम २ मा सम्पन्न उप चुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का भन्दा ५८३० मत बढि ल्याएर सुहाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।

सुहाङले २७ हजार ७७२ मत ल्याउँदा  उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ मत ल्याएका छन । त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्। चुनाव जित्ने भनेर निकै प्रचार गरिएका लिम्बुले धरौटी समेत जोगाउन सकेनन् ।

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम  मतगणस्थलमा आज बिहान ११ बजे राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुहाङ संविधान सभा अध्यक्ष स्वर्गिय सुवाष नेम्वाङका कान्छा छोरा हुन ।२०४६ फागुन ६ गते  जन्मिएका सुहाङले एलएलएम अध्ययन पुरा गरेका छन ।एमालेबाट संसद पुग्ने सुहाङ सबैभन्दा कान्छा सांसद हुनेछन् ।

२०७९ मा सम्पन्न निर्वाचनमा संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि ३० हजार २० मत प्राप्त गरि निर्वाचित भएका थिए । नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।  नेम्वाङले जम्मा ११४ मतको अन्तरले खड्कालाई पराजित गरेका थिए । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते हृदयाघातबाट  निधन भएपछि निर्वाचन आयोगले इलाम २ मा उपचुनाव गराएको हो ।