बाढी, पहिरो र डुबानमा परेर शनिवार साँझसम्म ६६ जनाको मृत्यु,७९ जना बेपत्ता

240 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,१२ असोज २०८१ ।  तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर असोज १२ गते शनिवार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा धादिङ लगायत देशभर  गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

धादिङमा ३, ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर २ फुर्केखोला र चाम्बासमा त्रिशूली नदी किनार छेउमा वनाईएका घरहरु जोखिममा परेका छन् । नदीमा पानीको वहाब बढ्दै जाँदा यहाँका घरहरु जोखिममा परेका हुन । दिनभर जसो ठप्प रहेको धादिङबेसी मलेखु सडक खण्डमा ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सवारी गुड्न थालेका छन् ।

धादिङको धुनिवेंशीको झ्याप्लेखोलामा शुक्रबार खसेको पहिरोका कारण काठमाडौंतर्फको यातयात अवरुद्ध भएको छ । उक्त स्थानमा करिब आधा दर्जन गाडी पहिरोमा परेका छन् । बाटो अवरुद्ध भएपछि काठमाडौं आउने केही यात्रुहरूलाई सुरङको बाटो हुँदै काठमाडौं पठाइएको छ र केहीलाई नौबिसेतर्फ नै फर्काइएको छ ।