कभर फोटो

झ्याप्लेखोला पहिरोमा प्रहरीको लापरवाही बारे छानबिन शुरु

By Dhading News

October 07, 2024

काठमाण्डौं,२१ असोज २०८१ । पहिरोमा पुरिएर ३५ जनाको ज्यान गएको धादिङको झ्याप्लेखोला घटनामा प्रहरीको लापरबाहीबारे छानबिन शुरु भएको छ । रात्रिबस सञ्चालनमा रोक लगाएको अवस्थामा निर्बाध गाडी चलेको र  झ्याप्लेखोलमा थुनिएका तथा पुरिएका यात्रुको समयमै उद्धार  नगरेको विषयमा सार्वजनिक आलोचना भएपछि प्रहरीले आन्तरिक छानबिन थालेको हो।

प्रशासनले गाडी नरोक्दा पहिरोमा ठूलो मानवीय क्षति भएको भन्दै लापरबाहीमा संलग्नलाई कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ।

खराब मौसमका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनलाई रात्रि बस सञ्चालनमा रोक लगाउन निर्देशन जारी गरिएको भएपनि तर जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला सुरक्षा समितिले उक्त सूचना र निर्देशनलाई कार्यन्वयन नगर्दा एउटै दुर्घटनामा असोज ११ गते राति झ्याप्लेखोलामा ३५ जनाको ज्यान गएको थियो। झ्याप्लेखोला नागढुंगानजिकै काठमाडौँ र धादिङको सिमानामा पर्छ।

उक्त पहिरोमा तीन वटा गाडी पुरिएका थिए। ७ वटा गाडीमा क्षति पुगेको थियो। ३ वटा गाडीमा सवार ३५ यात्रुको घटनास्थलमै ज्यान गएको थियो। पहिरोले गाडी पुरिएपछि पनि प्रशासनले भने निक्कै ढिलो मात्रै जानकारी पाएको थियो।

प्रहरीको आन्तरिक छानबिन समितिले आइतबार धादिङको सदरमुकाम पुगेर जिल्ला सुरक्षा समिति र प्रहरी नेतृत्वसँग सोधपुछ गरी घटनास्थलको  अवलोकन गरेर काठमाडौँ फर्किएको छ।निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले घटनाको भालिपल्टै छानबिन समिति गठन गरेका थिए। समितिलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।

तर लापरबाही गरेका कारण धादिङका एसपी र सीडीओको भने तत्काल सरुवा गरिएको थियो। एसपी गौतम केसीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको छ।

त्यसअघि नै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई तानेर गृहमन्त्रालयका सुमन घिमिरेलाई जिम्मेवारी दिएको थियो।

धादिङमा नयाँ एसपी दीपेन्द्र शाहीलाई खटाइएको छ।