कभर फोटो

राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रिय उपाध्यक्षमा नारायण सिलवाल चयन

By Dhading News

November 09, 2024

काठमाण्डौं, २४ कात्तिक शनिवार २०८१ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को केन्द्रिय उपाध्यक्षमा धादिङका पत्रकार नारायण सिलवाल निर्विरोध चयन हुनु भएको छ ।  धादिङ पोस्टका संचालक सिलवाल धादिङ जिल्ला फोटो पत्रकार संघको पूर्व जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश समितिको पुर्ब अध्यक्ष समेत हुनुहुन्छ ।

अध्यक्षमा वन्त पुनः  निर्विरोध 

शनिवार काठमाण्डौंमा सम्पन्न राष्ट्रिय फोटो पत्रकार समुह नेपाल(एनएफपिजे) को २७ औं बार्षिक साधारण सभा तथा १३ औं केन्द्रिय अधिबेशनबाट राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार प्रदीपराज वन्तको अध्यक्षतामा निर्विरोध १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् । केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका हुन् । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए । उक्त कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठ र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरेको थियो ।

यसैगरी ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार  २०८१’ बाट सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजु, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरेको थियो  ।