कभर फोटो

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

By Dhading News

November 25, 2024

काठमाडौँ, १० मंसिर २०८१ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीलाई सोमबार साँझ प्रहरीले रिहा गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनि आज रिहा भएका हुन् ।

अधिकारी गत कात्तिक ११ गते टोकियो महानगर र आर्ट काउन्सिल टोकियोद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुन जापान जादा उनीसहित खोटाङका जनक राई, दावा शेर्पा, र रसुवाका कञ्चन देवकोटालाई जापानको नारिता विमानस्थलमा अध्यागमनले रोकेर डिपोर्ट गरिदिएको थियो ।

काठमाडौं प्रहरीले अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । तर, सरकारी वकिल कार्यालयले प्रमाणहरू अध्ययन गर्दा अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने आधार फेला नपरेको भन्दै मुद्दा दर्ता नगर्ने निर्णय गरेको छ । अधिकारीले स्वयं जापानमा पुगेपछि आफू प्रयोग भएको थाहा पाएर नेपाल प्रहरीलाई जानकारी गराएको देखिएको छ । अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले धादिङका महेश पाण्डेका साथै अन्य जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ ।