काठमाडौं,१७ मंसिर २०८१ । सहकारी ठगी प्रकारणमा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविको बयान तीन दिनमा सकिएको हो ।
अन्तिम तेस्रो दिन आज करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो । शुक्रबारदेखि शुरु भएको उनको बयान आज सोमबार तेस्रो दिन सकिएको हो ।
आज बयान सकिएको र भोलि पोखरा पठाइदिने जनाइएको छ । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई भैरहवा लगेर पनि बयान लिइएको थियो ।
२ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।