काठमाडौं, १८ मंसिर । पटक पटक मिति तय हुंदै अन्तिममा आएर स्थगित हुने गरेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन यहि मंसिर २८ गते हुने भएको छ ।
महासंघले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।
प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन महासंघले सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरेको छ ।
पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।