कभर फोटो

सुन गायब पारेको आरोपमा नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा

By Dhading News

December 03, 2024

काठमाण्डौ, १८ मंसिर । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न रहेको पाईएपछि नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् ।

अनुसन्धानका क्रममा संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि  उनलाई प्रहरीले निलम्बन गरेको हो । तिवारी धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ का वासिन्दा हुन ।

केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना प्राप्त गरेपछि प्रहरीकै मिलेमतोमा गायब पारिएको सूचना चुहिएसँगै प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो । उक्त सुन प्रकरण छानबिन गर्दा विशेष ब्युरोमा कार्यरत तिवारीको संलग्नता देखिएपछि उनलाई  निलम्बन गरिएको हो । अनुसन्धान अवधिभर उनलाई प्रहरीको महाराजगन्जस्थित १ नम्बर गणमा राखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सुन तस्करीमा संलग्न भएको पाइएपछि असइ तिवारीलाई निलम्बन गरिएको बताए । ‘केरुङ नाकाबाट तीन किलो सुन तस्करी भएर काठमाडौं आउँदै रहेछ । घटनामा विशेष ब्युरोमा कार्यरत असइ सविन तिवारीको भूमिका शंकास्पद देखियो । एक त विशेष ब्युरोको प्रकृति त्यस्ता घटना अनुसन्धान गर्ने होइन । अर्को, प्राप्त सूचनालाई उनले अन्यत्र दिए । त्यसो हुँदा उनको भूमिका शंकास्पद देखियो । उनी अहिले निलम्बनमा परेका छन् ।’

असइ तिवारीको संलग्नताको सूचना पाएपछि नै अनुसन्धान गर्न प्रहरीले एसएसपी कार्कीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । तर, घटनामा संलग्न भनिएका आफूलाई सशस्त्रको ‘डिएसपी अर्जुनजंग थापा’ बताउने व्यक्तिका सन्दर्भमा भने अनुसन्धानमा केही खुलेको छैन, जसलाई असइ तिवारीले केरुङबाट तस्करी भएर आएको सुनबारे सूचना दिएका थिए । त्यसपछि उक्त सुन रहस्यमय तरिकाले लुटिएको थियो । प्रहरी प्रवक्ता कार्कीले भने, ‘असइ तिवारीले सशस्त्र प्रहरीका डिएसपी अर्जुनजंग थापा बताउने व्यक्तिलाई सूचना दिएको देखिन्छ । ती व्यक्ति को थिए भनेर हालसम्म खुल्न सकेको छैन । यस विषयमा प्रहरी अनुसन्धानरत नै छ ।’

प्रहरीका अनुसार कन्टेनरचालक वाइबाले चालक सिटनजिकैको बत्ती जडान हुने ठाउँमा ‘कन्सिल’ गरी केरुङ नाकाबाट सुन ल्याएका थिए । यसका लागि तस्करले उनलाई एक लाख रुपैयाँ दिने प्रलोभन दिएका थिए । काठमाडौंमा सुन ‘रिसिभ’ गर्ने टोली आउने र सुन उसैलाई जिम्मा लगाउने निर्देशन पनि तस्करले वाइबालाई दिएका थिए । सोही निर्देशनअनुसार वाइबा सुन बोकेर रसुवाको बाटो हुँदै आउँदै थिए । तर, मनमा डर पैदा भएपछि उनले मामाका छोरा नेमा छिरिङलाई त्यसबारे सुनाए । प्रहरीले पक्राउ गरे थुनामा पर्ने, तर सूचना दिए कमिसन आउने भएपछि नेमाको मनमा जुक्ति फुर्‍यो, ‘घटनाको सूचना प्रहरीलाई दिने ।’ उनले आफ्नो योजना मामा वाइबालाई भने । उनी भान्जा नेमाको योजनामा सहमत भए । नेमाको सम्पर्क नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असइ तिवारीसँग थियो । उनले घटनाको विवरण असइलाई भने । तर, तिवारीले आफूलाई प्राप्त सूचना आफू कार्यरत संगठनमा भनेनन् । हरिहर भवनस्थित राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्रका ‘डिएसपी अर्जुनजंग थापा’ बताउने व्यक्तिलाई भने । ‘डिएसपी थापा’ले नेमालाई तत्काल भेटे । बालाजु औद्योगिक क्षेत्रमा सुनसहित तस्करीमा संलग्नलाई रंगेहात पक्राउ गर्ने योजना बन्यो ।

सूचना दिने नेमासँग सशस्त्रको डिएसपी बताउने अर्जुनजंग थापा र सशस्त्रकै सइ बताउने विशाल खड्का २५ साउनको बिहान ५ बजेदेखि नै पकनाजोलस्थित गुरुङ क्याफेमा थिए । हतियारसहित रहेका उनीहरू कन्टेनर आए÷नआएको जानकारी नेमामार्फत लिइरहेका थिए । जब सुन लुटिएको खबर प्राप्त भयो, त्यसलगत्तै सशस्त्रका डिएसपी बताउने थापा र सइ बताउने खड्काले नेमालाई पक्राउ गरेका थिए । पछि कन्टेनर चलाएर आएका वाइबालाई पनि पक्राउ गरे ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने सशस्त्रमा अर्जुनजंग थापा नामका कुनै अधिकृत नभएको बताउँछन् । उनले भने, ‘केरुङ नाकाबाट तीन केजी सुन तस्करी भएर आएको र पछि लुटपाट भएको सूचनाबारे हामी जानकार छौँ । घटनामा आफूलाई सशस्त्रको डिएसपी अर्जुनजंग थापा बताउने व्यक्तिको नामबारे हामीले पनि सुनेका छौँ । भेरिफाई गर्दा त्यस्तो नाम गरेको कुनै अधिकृत हामीकहाँ रहेको भेटिएन । त्यसो हुँदा हामीले यो घटनालाई अनुसन्धान गर्नुपर्ने आवश्यकता नै ठानेनौँ ।’