आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना
120 पटक पढिएको
काठमाडौं, २४ मंसिर २०८१ । । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आज (सोमबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे हाे ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
विभागका अनसार आज राति कर्णालीलगायत सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।