कभर फोटो

बाल यौन दुरव्यवहार गरेको कसुरमा ७८ वर्षीय डम्बरबहादुरलाई एक वर्ष कैद सजायँ

By Dhading News

December 10, 2024

धादिङ, २५ मंसिर २०८१ । बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ का  ७८ वर्षीय डम्बरबहादुर दहाललाई एक वर्ष कैद सजायँ हुने भएको छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले ९ वर्षीया बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा धुनीबेसी नगरपालिका–७ का  दहाललाई कैद गर्ने फैसला सुनाएको हो ।

कसुरदारलाई एक वर्ष कैद, २० हजार जरिवाना र ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो । ०८१ कात्तिक ४ गते जबरजस्ती करणी उद्योग गरेको आरोपमा कसुरदार विरुद्ध पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको धादिङ अस्पतालमा कात्तिक ५ गते स्वास्थ्य परिक्षण भयो ।

घटनाको प्रकृति र प्राप्त प्रमाणहरुको आधारमा जिल्ला अदालतले जबरजस्ती करणी उद्योग नभइ यौन दुरव्यवहारमा परिणत गरि कसुरदारलाई सजायँ गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कात्तिक २९ गतेदेखि कसुरदार थुनामा थिए ।