कभर फोटो

समाजवादी प्रेस संगठन धादिङको अध्यक्ष पद बाट राज ढुंगानाले दिए राजिनामा

By Dhading News

December 17, 2024

धादिङ,२ पुस २०८१ । समाजवादी प्रेस संगठन धादिङका अध्यक्ष राज ढुंगानाले अध्यक्ष पद बाट राजिनामा दिएका छन् ।

ढुंगानाले २०८१ पुस २ गतेको मिति देखि आंफुले संगठनको जिल्ला अध्यक्षको पदबाट राजिनामा दिएको बिज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

समाजवादी प्रेस संगठन नेकपा एकीकृत समाजवादी निकट रहेको पत्रकारहरुको संगठन हो । मंसिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रिय गठबन्धन बिरुद्ध विद्रोह गर्दै प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन संग सहकार्य गरेको सो संगठनले पत्रकार महासंघ धादिङ शाखाको कोषाध्यक्ष र ३ सदस्य पदमा उम्मेदवारी दिएकोमा कोषाध्यक्ष पदमा पराजय व्यहोरेको थियो । निर्वाचनमा आफ्नो उम्मेदवार पराजित भएकोमा त्यस्को जिम्मेवारी लिंदै अध्यक्ष ढुंगानाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । पत्रकार महासंघको जिल्ला कोषाध्यक्ष पदमा संगठनका केन्दिय सदस्य शिवराज आचार्य ३ मतले पराजित भएका थिए ।

संगठनको केन्द्रिय , प्रदेश र जिल्ला तहको नेत्तृत्व बिच समयमै सहकार्य र समन्वयको अभावले संगठन कमजोर वन्दै गएको ढुंगानाले बताएका छन् । आंफु २०७८ फागुन २ गते देखि समाजवादी प्रेस संगठन धादिङको अध्यक्षको जिम्मेवारीमा रहेको र अव सो पदमा नरहने उनले वताएका छन् ।

कोषाध्यक्ष पदमा पराजित भएपनि महासंघ जिल्ला शाखा कार्य समितिको सदस्यमा समाजवादी प्रेस संगठनका सन्दिप प्रसाद घिमिरे र वागमती प्रदेश परिषद सदस्यमा राज ढुंगाना र लक्ष्मी भुजेल विजयी भएका छन् ।