धादिङ, पुस १५ – न बस्ने बेन्च छ, न कक्षा कोठा नै । टाँक फुस्किसकेको पुरानो एकसरो लुगामा किताब र कापी च्यापेर आएका बालबालिका आँगनमा पलेंटी कस्छन् ।
शिक्षिका आँगनको डिलमा उभिएर पढाउन शुरु गर्छिन् । यस्तै दैनिकीबाट चलिरहेको छ धादिङ ब्रुसबाङको एउटा बाल कक्षा ।
नजिकै विद्यालय नभएको ब्रुसबाङ गाउँमा बालबालिका पढाइबाट वञ्चित नहोउन् भनेर स्थानीय अगुवा ७७ वर्षिय टेकबहादुर चेपाङको आँगनमा बाल शिक्षा कक्षा सञ्चालन हुँदै आएको छ ।
बालबालिकाले गाउँमै पढ्न पाएपनि उनीहरुलाई अक्षर चिनाउने शिक्षिका सरिता गुरुङ भने दिनमा ६ घण्टा उकालो ओरालो गर्नुपर्छ । १२ कक्षाको पढाइ सकेकी चोतेश गाउँकी सरिताले गएको जेठ १९ गतेदेखि पढाउन सुरु गर्नुभएको हो ।
चेपाङ समुदायको मात्र बसोबास रहेको ब्रुसबाङमा २६ घर परिवार छन् । पढ्ने उमेरका ४५ जना बालबालिका भएपनि ३६ जनाले पढ्न आफ्नो नाम लेखाएका छन् । गाउँका कसैले पनि लेखपढ गर्न जान्दैनन् भन्ने समाचार संचारमाध्यममा आएपछि गैर सरकारी संस्था प्रयास नेपालले बाल शिक्षा सञ्चालनको लागि सहयोग गरेको हो ।
ब्रुसबाङ गाउँबाट नजिकको वस्ती चोतेश पुग्न तीनघण्टा ओरालो हिँड्नुपर्छ । चोतेशको प्राथमिक विद्यालयमा गाउँका बालबालिका गएर पढ्न असम्भव देखेपछि गाउँमै बाल शिक्षाको लागि पहल गरिएको संस्थाका अध्यक्ष कृष्णबहादुर चेपाङले बताउनुहुन्छ ।
चेपाङ बालबालिकाको शिक्षिका बन्न राजी भएपछि चोतेशकी सरितालाई मासिक चारहजार रुपैयाँ दिनेगरी राखिएको हो ।
कक्षा १२ को परीक्षा दिएर घरमै बसेकी सरिताले अहिले ३६ जना चेपाङ बालबालिकालाई कखरा सिकाउँदै आउनुभएको छ । ‘विकट वस्तीमा पुगेर शिक्षाको ज्योति छर्न पाएकोमा खुसी लागेको छ, मेरो मेहनतबाट चेपाङ भाइबहिनीले पढ्न सिके भने मेरो लागि ठूलो कुरा हुन्छ’ सरिताले भन्नुभयो ।
महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ गाउँ धादिङ जिल्लाकै सबैभन्दा विकटको वस्ती हो । वर्षौंसम्म राज्यको ध्यान पुग्न नसक्दा यहाँका बालबालिकाले लेखपढ गर्न पाएका थिएनन् । गाउँमा भवन नहुँदा घरको आँगनमा राखेर सरिताले कक्षा सञ्चालन गर्दै आइरहनुभएको छ ।
न्युनतम पारिश्रमिकमै भएपनि सरिताले दैनिक ६ घण्टा उकालो ओरालो गरेर पढाउन थालेकोमा अहिले धेरैले उहाँको सेवाको प्रशंसा गरेका छन् उज्यालो अनलाईनले खबर लेखेको छ ।