ब्रुसबाङको चेपाङबस्तीमा भुईं स्याउ खेती गरिने

1366 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, वैशाख २४ – चरम खाद्य संकट रहेको धादिङको ब्रुसबाङस्थित चेपाङबस्तीमा खाद्यान्नको विकल्पमा परीक्षणकारुपमा भुईंमा फल्ने स्याउ खेती गरिने भएको छ ।

Yacon-or-ground-apple-320x400जमिनमुनी फल्ने स्याउ खेतीका बारेमा जानकारी पाएपछि गैर सरकारी संस्था शान्ति नेपालले दक्षिणी धादिङको ब्रुसबाङका चेपाङ समुदायलाई चार सय वटा बिरुवा उपलव्ध गराएर भुईंमा फल्ने स्याउ खेतीका लागि सहयोग गरेको हो ।

२७ परिवार चेपाङको मात्र बसोबास रहेको ब्रुसबाङमा वर्षको ९ महिना खाद्य संकट पर्ने गर्दछ । समुद्री सतहदेखि १८७३ मिटरको उचाईमा रहेको ब्रुसबाङ दक्षिणी धादिङकै बिकट बस्ती हो ।

भुईं स्याउ धादिङ जिल्लाका लागि नयाँ खेती भए पनि बजारका लागि कुनै समस्या नभएको जानकारी पाएपछि ब्रुसबाङमा भुइँ स्याउको व्यवसायिक खेती गर्न स्थानीय बासिन्दालाई अभिप्रेरित गरिएको शान्ति नेपालका परियोजना सहायक संयोजक इन्द्रमान शाक्यले बताउनुभयो ।

शाक्यका अनुसार भुईं स्याउको बोट सूर्यमुखी फूलको जस्तै हुन्छ भने रोपेको एकै वर्षमा फल दिन थाल्दछ । सखरखण्ड र स्कुसको जराजस्तै जमिनमुनि फल्ने, बोक्रा ताछेपछि स्याउजस्तै देखिने र स्वाद पनि स्याउजस्तै हुने भएकाले यसलाई भुईं स्याउ भनिएको शाक्यले बताउनुभयो ।

स्याउ, खरबुजा र गाँजरको जस्तो तीनवटा फलफूलको मिश्रित स्वाद पाइने सखरखण्ड जस्तै देखिने भुईंस्याउको सेवनबाट डायबिटिज, जन्डिस, पत्थरी, कब्जियत र ग्याष्टिकका बिरामीलाई फाइदा पुग्ने विज्ञको भनाइ छ ।

पानी नजम्ने बलौटे माटो भएका तराईदेखि पहाडी जिल्लाको तीन हजार मिटरको उचाइसम्म खेती गर्न सकिने भुईं स्याउका लागि ब्रुसबाङ उपयुक्त स्थान हुन सक्ने देखेर यो वर्ष परीक्षणका रुपमा खेती सुरु गर्न लागिएको शाक्यले बताउनुभयो ।