प्रशासनको मुल गेटमै म्यानपावर अफिस

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – धादिङमा जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि सरकारी भवन भाडामा लिएर म्यान पावर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला बालकल्याण समिति धादिङको नाममा जिल्ला प्रशासन कार्यालयको अगाडि रहेको बाल कल्याण भवन भाडामा लिएर फोटो स्टुडियो सञ्चालन गर्दै आइरहेका बालकृष्ण श्रेष्ठले प्रशासन कार्यालयको अनुमति नलिई म्यानपावर सञ्चालनमा ल्याएका हुन ।

जिल्ला बाल कल्याण समितिले दुई वर्ष अघिदेखि फोटो स्टुडियो सञ्चालनका लागि आफ्नो भवन भाडामा दिँदै आइरहेको छ । अघिल्लो आर्थिक वर्षमा मासिक ८ हजारका दरले भाडामा लागेको यो भवन चालु आर्थिक वर्षमा भने बडाबडमा मासिक ६४ हजार रुपैयाँ तिर्ने गरी धादिङबेसीका बालकृष्ण श्रेष्ठले भाडामा लिएका थिए ।

ओमशान्ति डिजिटल स्टुडियोका सञ्चालक श्रेष्ठले फोटो स्टुडियो सञ्चालनका लागि भाडामा लिएको जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको भवनमा केही महिनादेखि लक्की एचआर सोलुशन प्रालि नामक म्यानपावरको सम्पर्क कार्यालय पनि खोलेका हुन ।

जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको भवन एउटा कामका लागि भनेर अर्को कामको प्रयोग भइरहेको भन्ने जनगुनासो आएकाले बाल कल्याण समितिमार्फत यस बिषयमा छानबिन गरिने धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । एक हप्ता अघि मात्र खोटाङबाट सरुवा भएर धादिङ आएका कारण आफूलाई सबै जानकारी नभएकाले बालकल्याणमार्फत यस बिषयमा जानकारी लिने  नेपालको भनाइ छ ।

फोटो स्टुडियोका लागि भवन भाडामा लिएका श्रेष्ठले भने आफूले फोटो स्टुडियोलाई मुख्यपेशा बनाएर काम गरिरहेको दावी गर्नुभयो । उहाँले आफ्नो व्यवसाय अवैध नभएको बताउनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ ।