कुखुरा पाल्न लिएको बिजुली बालुवा धुन प्रयोग

561 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ,  – धादिङको राजमार्ग र त्रिशूली नदीको किनार क्षेत्रमा सञ्चालित ७७ वटा वालुवा धुने (फिरफिरे) उद्योगले अवैध ढंगवाट विजुली लाइन जोडेको पाईएको छ ।

नदी, खोला र राजमार्गको छेउमा सञ्चालन भईरहेका अधिकांश फिरफिरेले मिल तथा अन्य व्यवसाय संचालनको लागि अनुमति लिएर वालुवा धुने उद्योग चलाईरहेको पाईएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जनाएको छ ।

धादिङमा मिल दर्ताको अनुमति लिएर फिरफिरे सञ्चालन भईरहेको बिषयमा पटक पटक समाचार वाहिर आएपछि प्राधिकरणले स्थलगत अनुसन्धान समिति गठन गरेर फिरफिरेको अनुगमन सुरु गरेको थियो ।  प्राधिकरण टोलीले स्थलगत निरीक्षणमा जिल्लामा सञ्चालित ७७ वटा फिरफिरेले विद्युत दुरुपयोग गरेको भेटेको जानकारी दिएको छ ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी सञ्चालित यी उद्योगहरुले एउटा प्रयोजनका लागि भनेर लिएको विद्युत फिरेफिरेमा जडान गरेर अवैध धन्दा सञ्चालन गर्ने गरेको समाचार सार्वजनिक भएपछि प्राधिकरणले यस बिषयमा अनुसन्धान सुरु गरेको थियो । धादिङको राजमार्ग र त्रिशुली नदी किनारमा सञ्चालित अवैध बालुवा उद्योगका कारण त्रिशुली नदी प्रदुषित बन्दै गएको र सार्वजनिक जग्गा अतिक्रमणमा पर्दै गएको जन गुनासो छ ।

अवैध ढंगबाट वालुवा धुने फिरफिरे चलाउनेहरुले कुटानीपिसानी मिल, कुखुरा पालन, होटल तथा लज र अन्य साना व्यवसायका लागि भनेर लिएको विद्युत लाईनको दुरुपयोग गरेको प्राधिकरणले जनाएको छ ।   प्राधिकरणले गरेको छानविनको प्रतिवेदनमा गजुरी प्रशाखा अन्तर्गत गल्छीदेखि मलेखु बजारसम्म ५७ ग्राहकले ७७ वटा फिरफिरे उद्योगमा अवैध ढंगवाट विजुली जोडेर सञ्चालन गरेको उल्लेख छ । प्राधिकरणको विद्युत वितरण विनियमावली २०६९ परिच्छेद ६ को विनियम ३२ को ग्राहकले पालना गर्नु पर्ने सर्तमा एक किसिमको कामको लागि विद्युत लिई अर्को काममा प्रयोग गर्न नपाईने व्यवस्था छ । तर कुनै पनि फिरफिरे उद्योगले विद्युत प्रयोग गर्न स्वीकृति नलिएको प्राधिकरणका लेखा प्रमुख नरेन्द्रबहादुर कडेंल संयोजक रहेको छानविन प्रतिवेदनमा उल्लेख छ ।

कानुन मिचेर संचालन गरिएका व्यवसायमा विद्युत जडान गरिनु अनुचित हुने सुझावसहितको प्रतिवेदन बुझाईएको छानविन टोलीका सदस्य विष्णुकुमार थापाले बताउनुभयो । प्रतिवेदनमा विद्युत दुरुपयोग भएको भेटिए प्राधिकरणले लाईन काट्न सक्ने विनियमावली समेत स्मरण गराईएको छ ।

अन्य व्यवसायको प्रमाण पत्र देखाएर घरेलु कार्यालयको दर्ता स्वीकृति बिना सञ्चालित फिरफिरेहरुले अबैध ढंगवाट विद्युत लाईन जडान गरेका हुन् । पृथ्वीराजमार्ग आसपास र त्रिशुली नदी किनारमा सञ्चालित बालुवा धुने उद्योगहरुले बर्षौदेखि विद्युत दुरुपयोग गरेको स्थानीयबासिन्दाको भनाई छ । प्राधिकरणका कर्मचारीको मिलेमतोमा विद्युत दुरुपयोग भएको उनीहरुको आरोप छ । बिद्युत्त लाइन दुरुपयोग भएको बिषयमा पटक पटक समाचार आएपछि  छानविनका लागि प्राधिकरण धादिङ शाखाले कंडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदन अध्ययनपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरण धादिङ शाखा प्रमुख मनोजकुमार झा बताउनुहुन्छ ।

धादिङको स्थानीय प्रशासनले दर्ता बिना सञ्चालित अवैध बालुवा उद्योगहरु बन्द गर्न पटक÷पटक निर्देशन दिएको भएपनि व्यवसायीहरुले प्रशासनलाई अटेर गरी मनोमानी ढंगवाट व्यवसाय चलाउँदै आएका छन । कानुन विपरित सञ्चालित कुनै पनि व्यवसायलाई प्रशासनले प्रचलित कानुन अनुसार कारवाही गरेर छाड्ने धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ ।