जिल्ला शिक्षा अधिकारीहरुको व्यापक सरुवा-सरुवामा प्रिपेड घुस र राजनीतिकरण भएको आरोप

783 पटक पढिएको

सम्पादक: Dhadingnews.com

chitralekha-and-Bishwo-prak काठमाडौं । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा अधिकारीहरुको ब्यापक सरुवा र हेरफेर गरेको छ । मन्त्री चित्रलेखा यादव र सचिव बिश्वप्रकाश पण्डितको इच्छा बमोजिम जिशिअहरुको सरुवा लिष्ट तयार पारिएको मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।

सरुवा भएका जिशिअहरुलाई विहीबारबाट धमाधम पत्र थमाउन थालिएको छ । निजामति कर्मचारी संगठनले भने सरुवामा प्रिपेड घुस र राजनीतिकरण भएको भन्दै आपत्ति जनाएको छ ।

सबैभन्दा आकर्षक मानिने काठमाडौं जिल्ला शिक्षा अधिकारीमा भक्तपूरका जिशिअ शंकर गौतम आएका छन् । काठमाडौंका जिशिअ बैकुण्ठ अर्याल शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा भएका छन् । त्यस्तै जनशक्ति विकास केन्द्रमा रहेका उपसचिव डा. आनन्द पौडेल मन्त्रालय तानिएका छन् ।

कहाँबाट कहाँ गए ?

कास्कीमा सरुवा भएको सात महिना नपुग्दै डिल्लीराम लुइटेल शिक्षा बिभागमा सरुवा भएका छन् भनें उनको ठाउँमा दैलेखका जिशिअ अम्बिका आचार्य आएका छन् । त्यस्तै रुपन्देहीका विष्णु अधिकारीलाई तनहु, मकवानपूरका खड्गवहादुर कमाल नवलपरासी, नवलपरासीका टेकवहादुर थापा रुपन्देहीर र चितवनका रमाकान्त शर्मा भक्तपूर सरुवा भएका छन् । काठमाडौंपछि यी जिल्लाहरु जिशिअ बन्नेका लागि आकर्षक मानिन्छन् । ललितपूरका जिशिअ शिव सापकोटा भनें यथावत राखिएका छन् ।

ताप्लेजुङका दामोदर आचार्य चितवन सरुवा भएका छन् भने शैक्षिक तालिम केन्द्र दिपायलका रामप्रसाद पाण्डे ताप्लेजुङ पुगेका छन् । मोरङका जिशिअ योगेन्द्र बराल मन्त्रालय तानिएका छन् भने उनको ठाउँमा कसैलाई पठाइएको छैन । बिष्णु गोतामे दैलेखको जिशिअ बनेका छन् भने धादिङकी सहायक जिशिअ चन्द्रकुमारी थापालाई खुल्ला विश्वविद्यालय पुर्वाधार समितिको कार्यालय सरुवा गरिएको छ ।

बझाङका जिशिअ जगन्नाथ उपाध्याय सल्यान सरुवा भएका छन् भने मन्त्रालयमा रहेका उपसचिव बसन्तप्रसाद प्रसाद कोइराला भोजपूर पुगेका छन् । अर्का जिशिअ दुर्गादत्त विष्ट डडेलधुरा, झंकरबहादुर बिष्ट सुदुरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय, म्याग्दीका बिष्णुनारायण श्रेष्ठ जाजरकोट, शिक्षा बिभागका बलराम तिम्सिना म्याग्दीको जिशिअमा सरुवा भएका छन् ।

धनुषाका सहायक जिशिअ अरविन्दलाल कर्ण रौतहटको जिशिअमा सरुवा भएका छन भने एकमात्र दलितत जिशिअ पूर्णवहादुर दर्जीलाई संखुवासभाबाट सरुवा गरेर मन्त्रालयमा तानिएको छ । उनको ठाउमा सुनसरीका जिशिअ वीरवहादुर खड्का सरुवा भएका छन् । तनहुका जिशिअ हरि गौतम मकवानपूर सरुवा भएका छन् । त्यस्तै जाजरकोटका जिशिअ वीरमान थापा शैक्षिक जनशक्ति केन्द्र धनुषा, मन्त्रालयका नवराज खतिवडा तालिमकेन्द्र सुर्खेत, मोतिलाल शर्मा पोखराबाट बझाङ सरुवा भएका छन् ।

रामेछापका जिशिअ युवराज पौडेल मन्त्रालय सरुवा भएका छन् । पौडेलको ठाउमा डडेलधुराका खुबिराम अधिकारी रामेछाप सरुवा भएका छन् । यसअघि पहिलो चरणमा मन्त्रालयले ९ जना जिल्ला शिक्षा अधिकारीको सरुवा गरेको थियो । मोरङ, सुनसरी र दार्चुला खाली राखिएको स्रोतले जनाएको छ ।

सरुवामा प्रिपेड घुस

यसैबीच जिल्ला शिक्षा अधिकारीहरुको सरुवामा व्यापक भेदभाद, आर्थिक अनियमितता र कांग्रेसीकरण गरिएको भन्दै एमाले सम्बद्ध निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ । ‘कतिपय जिल्ला शिक्षा अधिकारीहरुलाई प्रिपेड घुस लिएर आकर्षक ठाउँमा पठाइएको जानकारी आएको छ, हामी भण्डाफोर गर्छौ’ संगठनको शिक्षा मन्त्रालय अन्तर्गतका एक जिम्मेवार पदाधिकारीले भने ‘मन्त्री र सचिवले छानी छानी एमाले निकटका जिशिअलाई दुर्गम र काम नलाग्ने ठाउमा डम्प गरेका छन् ।’ संगठनले सचिव विश्वप्रकाश पण्डिको ध्यानाकर्षण गराउदा समेत उनले गैरजिम्मेवार जवाफ दिएको ती कर्मचारीले बताए ।

-अनलाईनखबरवाट