आम्दानीको राम्रो श्रोत बन्दै माछा पालन

3275 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ – माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि धादिङका किसानहरु ब्यवसायिक माछा पालन तर्फ आकर्षित हुनेक्रम बढ्दै गएको छ ।
परम्परागत खेति गर्दै आएका कृषकहरु कम मेहनत तथा छोटो समयमा माछा पालनबाट राम्रोे आम्दानी हुने देखिएपछि ब्यवसायिक रुपमा माछा पालन तर्फ लागेका हुन । धादिङ जिल्लामा मात्र बार्षिक १ सय २२ क्विन्टल माछा उत्पादन हुने गरेको छ ।
SAM_2262घरायसी प्रयोजनका लागि जिल्लामा दुई दशक अघि देखिनै माछापालन हुंदै आईरहेको भएपनि चार पाँच बर्षयता भने ठुलो लगानी गरेर माछापालन गर्ने किसानको संख्या जिल्लामा बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।
पृथ्वीराजमार्गको मलेखु र अन्य वजार खण्डमा व्यवसायिक रुपमा माछाका परिकार हरु वनाएर बिक्री गर्ने पसलहरु खुल्नेक्रम बढ्दै गएपछि स्थानीय किसानहरु माछापालन तर्फ आकर्षित भएका हुन । माछा प्रोटिन युक्त हुने भएकोले माछाको माग बजारमा बढ्दो रहेको छ ।
राजमार्ग र आसपासका गाउंवस्तिमा शुरु गरिएको माछा पालन केन्द्रमा माछा किन्नका लागि ब्यापारीहरु पोखरीमा नै आउने भएपछि माछाको बजारीकरणमा समस्या नभएको किसानहरु बताउंछन । परम्परागत खेतिमा निकै लगानी र समय खर्चिदा पनि उपलव्धि सोचेजस्तो हुन छाडेपछि वैकल्पिक पेशाका रुपमा ब्यवसायिक माछा पालन सुरु गरेका बैरेनी ९ का बिष्णुप्रसाद अधिकारी थोरै समयमा पाछा पालन ब्यवसाय गरेर राम्रो आम्दानी भईरहेको बताउनुहुन्छ ।
धादिङमा पछिल्ला बर्षमा व्यवसायिक माछापालन गर्ने किसानहरुको संख्या बढ्न थालेको छ । माछाको परिकारमा रमाउने उपभोक्ताहरुको संख्या बढ्न थालेपछि गाउँ गाउंमा व्यवसायिक माछापालन पनि फस्टाउन पुगेको हो ।
वजारको समस्या नहुने भएकाले राजमार्गका छेउछाउ,सदरमुकाम आसपास र ग्रामीणभेगहरुमा समेत व्यवसायिक माछापालन हुने गरेको छ । घर वरिपरी खेर गईरहेको पानीलाई पोखरीमा जम्मा गरेर माछापालन गर्ने किसानको संख्या धादिङमा धेरै भएपनि एक रोपनी भन्दा बढी जग्गामा व्यवसायिक रुपमा माछापालन गरिरहेका किसानको संख्या अहिले १४ जना पुगेको जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी वताउनुहुन्छ ।
घरायासी प्रयोजनका लागि माछापालन गरिरहेका किसानको संख्या जिल्लामा निकै भएपनि कार्यालयले चालु आर्थिक बर्षका लागि जिल्लामा ५ हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेको पनि पन्थीले वताउनु भयो । उहांका अनुसार एक रोपनी भन्दा बढी जमिनमा पोखरी वनाएर व्यवसायिक माछापालन गर्ने किसानको सख्या अहिले सम्म १४ जना रहेको र केही दिनमै ५ जना किसानको संख्या थपिने भएको छ । कार्यालयले माछापालनका लागि उपयुक्त देखिएको स्थानमा पोखरी वनाएर आउने किसानलाई प्रतिरोपनी १० हजारका दरले अनुदान सहयोग उपलव्ध गराउंदै आईरहेको छ ।
पोखरीमा माछापालन गरेर गएको बर्ष धादिङ जिल्लावाट १ सय २२ क्विन्टल माछा उत्पादन भई बिक्री वितरण गरिएकोमा यो बर्ष पोखरीको माछाको उत्पादन निकै बढ्ने अनुमान गरिएको पन्थीले वताउनु भयो । अघिल्लो बर्ष व्यवसायिक माछापालन गर्ने किसानहरुले प्रति किलो सरदर २ सय ३० रुपैयाँमा बिक्री गर्दा जिल्लामा २ करोड ८० लाख ६० हजार रुपैया आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङक छ । स्थानीय उत्पादनले नधानेको कारण अझैपनि विरगन्ज,जनकपुर लगायतका स्थानवाट ल्याईएका माछाले मलेखुको वजार लिईरहेको माछा पसलेहरु बताउंछन । मलेखुमा मात्र माछाको परिकार वनाउने एक सय भन्दा बढी होटलहरु संचालनमा रहेका छन ।
कृषकलाई माछा पालन ब्यवसाय तर्फ आकर्षण गर्न प्रोत्साहन स्वरुप नयाँ पोखरी निर्माणका लागि अनुदान सहयोग उपलब्ध गराए पछि यस पेशामा आउन चाहने किसानको संख्या बढ्दै गएको पन्थीले वताउनु भयो । पोखरी वनाएर व्यवसायिक माछापालन गर्ने किसानहरुको संख्या विस्तारै बढ.दै गएपनि जिल्लाका ठुला तथा साना नदीमा परम्परागत रुपमा माछामारेर आयआर्जन गर्नेहरुको सख्या पनि धेरैनै रहेपनि त्यस्ता व्यक्तिवाट बिक्री बितरण गरिएको माछाको तर्फवाट भएको आम्दानीको भने तथ्याङक खोज्न निकै कठिनाई हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा नौविसे,थांक्रे ,भुमेस्थान, बैरेनी, कुम्पुर, नलाङ, सलाङ,वेनिघाट, धुषाका साथै नीलकण्ठ नगरपालिकाको विभिन्न गाउंवस्तिमा व्यवसायिक माछापालन हुंदै आईरहेको छ । यसैगरी जिल्लाको राजमार्ग क्षेत्र र सदरमुकाम तथा अन्य वजार क्षेत्रका होटलहरुवाट दैनिक रुपमा माछाको परिकार बिक्री हुंदै आईरहेको छ । जिल्लामा माछाको वजार हुंदा हुंदैपनि पसलेहरुले जिल्ला वाहिरवाट बर्षेनी करोडों रुपैयाको माछा खपत गर्दै आईरहेकाले स्थानीयवजारको आवश्यकता अनुसारको उत्पादन दिन आंफुहरुले कुम्पुर गाविसको थोपलदोभानमा व्यवसायिक रुपमा माछापालन गर्दे आईरहेको व्यवसायी ध्रुव विक वताउनुहुन्छ । खोलाका छेउमा पालिने माछाका लागि कहिले कांही मान्छेले खोलामा बिषादी मिसाएर समस्या ल्याईदिने गरेको उहांले वताउनु भयो  ।