सरकारी पुस्तक पाए निजीको बेच्दैनौं –व्यवसायी

555 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङबेसी–जनक शिक्षा सामाग्री केन्द्रले समयमै पाठ्यपुस्तक उपलव्ध गराउन नसकेको कारण देखाउंदै धादिङका पुस्तक व्यवसायीहरुले सरकारी बिद्यालयमा निजी क्षेत्रवाट प्रकाशित पाठ्यपुस्तक बिक्री गर्नुपरेको वताएका छन ।
images‘सरकारी बिद्यालयमा निजी क्षेत्रको पाठ्यपुस्तक शिक्षा कार्यालय बेखबर’ शिर्षकमा नेत्रावती साप्ताहिकको २०७१ जेठ २१ गते को अंकमा मुख्य समाचार प्रकाशित भएपछि जिल्ला शिक्षा कार्यालयले व्यवसायीहरुलाई पत्र पठाई यस बिषयमा लिखित स्पष्टिकरण माग गरेको थियो । शिक्षा कार्यालयले जेठ २३ गते नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा धादिङलाई पत्राचार गरी के कति कारणले जिल्लामा सरकारी बिद्यालयमा निजी क्षेत्रको पाठ्यपुस्तक विक्री बितरण गर्नुपरेको हो कारण सहित जानकारी दिन पत्रमा भनेको थियो ।
शिक्षा कार्यालयले पठाएको पत्रको जवाफ दिनका लागि जेठ २७ गते जिल्ला शिक्षा अधिकारी समक्ष पुगेका धादिङका व्यवसायीहरुले जनक शिक्षा र साझा प्रकाशनले समयमै पाठ्यपुस्तक उपलव्ध नगराएका कारण आंफुहरुले अपुग भएका पुस्तक निजी क्षेत्रबाट ल्याएर बिक्री बितरण गरेको स्विकार गरेका थिए ।
व्यवसायीहरुले दिएको मौखिक जवाफ चित्त बुझ्दो नभएको भन्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले लिखित जवाफ पेश गर्न र कुन बिद्यालयमा कति पाठ्यपुस्तक निजी क्षेत्रको पठाईएको हो सो सम्वन्धि जानकारी दिन आग्रह गर्नुभएको छ ।
सरकारी बिद्यालयमा बितरण गर्ने पाठ्यपुस्तकको प्रकाशनको जिम्मेवारी पाएको जनक शिक्षा र बितरणको जिम्मेवारी पाएको साझा प्रकाशनको ढिलाईका कारण विगतका बर्षमा शैक्षिक सत्र सकिन लाग्दा पनि आंफुहरुले मागेजति पाठ्यपुस्तक नपाएपछि यस पटक व्यवसायीहरुले समयमै बिद्यार्थीलाई पुस्तक उपलव्ध गराउने नाममा निजी क्षेत्रको पाठ्यपुस्तक निर्वाध रुपमा बिक्री बितरण गरेको बिषयमा नेत्रावतीले जेठ २१ गते समाचार प्रकाशित गरेको थियो ।
जिल्ला शिक्षा अधिकारीसंगको भेटमा व्यवसायीहरुले आंफुहरुवाट गल्ति भएको स्विकार गरेपनि के कति परिणाममा पाठ्यपुस्तक बितरण गरेको हो भन्ने वारेमा भने स्पष्ट नपारी जिल्लाको बसेरी र बुढाथुम श्रोत केन्दका बिद्यालयले निजी क्षेत्रको पाठ्यपुस्तक खरिद गरेको बिषयमा पनि छानविन हुनुपर्ने भन्दै आंफुहरुको बचाउको प्रयास गरेका थिए । जनक शिक्षाले पुस्तक उपलव्ध गराए निजी क्षेत्रका पुस्तकहरु बिद्यालयमै गएर फिर्ता लिन आंफुहरु तयार रहेको व्यवसायीहरुले वताएका छन । जिल्ला शिक्षा कार्यालयले पुस्तक व्यवसायी र बसेरी बुढाथुम श्रोत केन्द्रका बिषयमा तत्काल छानविन गर्ने जनाएको छ । व्यवसायीहरुले आंफुहरुले नपुग भएको केही पुस्तक पसलवाट बिक्री गरेको स्विकार गर्दै जिल्लाकै केही बिद्यालयले सिधै वाहिरवाट निजी प्रकाशनको पुस्तक ल्याउंदा शिक्षा कार्यालयले केही गर्न नसकेको भन्दै गुनासो गरेपछि शिक्षा कार्यालयले बसेरी बुढाथुमका बिषयमा पनि छानविन गर्न लागेको हो ।