मृग मार्ने शुभराम धरौटीमा रिहा

744 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : कांग्रेसले सत्ताको दुरुपयोग गर्दे संरक्षित बन्यजन्तुका शिकारमा संलग्न आफ्ना कार्यकर्तालाई धरौटीमा थुनामुक्त गराएको छ। कांग्रेसको भागमा परेको बन मन्त्रालयकै आडमा मृगको शिकारमा संलग्न शुभराम बस्नेतसहित अन्य ६ जना शुक्रबार धरौटीमा रिहा भएका हुन्। जिल्ला बन कार्यालय धादिङले बस्नेतसहित ६ जनालाई थप अनुसन्धनका लागि लिएको १० दिनको याद नसकिदै धरौटीमा रिहा गर्ने आदेश गरेको हो। कार्यालयले सोमबार पक्राउ गरेका ६ जनाबिरुद्ध थप अनुसन्धानका लागि भन्दै मंगलबार १० दिन म्याद थप गरेको थियो।

बागलुङबाट काठमाडौं फर्कदै गरेको बस्नेत समूहले धादिङ थाक्रेमा पृथ्बी राजमार्गसँगै जोडिएको ठूलो सामूदायिक बन क्षेत्रभित्र प्रवेश गरी मृगको शिकार गरेका थिए। शिकार गरी मारिएको मृग, हतियार र गाडीसहित पक्राउ परेका ६ जनालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा दुईअन्र्तगत कारवाही चलाउन सकिने भए पनि दबाबमा बन कार्यालयले दफा २६ को उपदफा ३ बमोजिम शुभरामलाई २८ हजार र अन्य पाँचजनालाई जनही १४ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रहरी हिरासतमा रहेका उनीहरू सबै शुक्रबार नै धरौटी बुझाएर रिहा भएका छन्।

कार्यालयले बस्नेत समूहले मारेको मृग संरक्षित बन्यजन्तुअन्र्तगत अनुसुची १ भन्दा बाहिरको भएको भन्दै उक्त दफा लगाएको जनाएको छ। कार्यालयका सहायक वन अधिकृत तथा घटनाका अनुसन्धान अधिकृत बिनोदकुमार रेग्मीले घटनामा संलग्न, हतियार र मारेको मृग समेत बरामद भएकाले अनुसन्धान गर्न केही नभएकाले धरौटीमा छाड्न आदेश भएको बताए।

बस्नेत समूह पक्राउ परेलगत्तै कांग्रेसको देउवा समूहका नेताहरूले फोन गर्दे बन कार्यालयका कर्मचारीलाई दबाब दिएका थिए। यस्तै धादिङ कांग्रेसका नेता तथा कार्यकर्ता बन कार्यालयमै पुगेर अनुसन्धान अधिकृतलाई दबाब दिदै आएका थिए। बस्नेत कांग्रेसमा देउवा पक्षधर हुन्। अनुसन्धान अधिकृत रेग्मीले कानुन बमोजिम नै कारवाही भएको दाबी गरे। तर उनले ‘तपाईहरूले कुरा बुझ्नु भाछ मिलाएर गरिदिनु होला’ भन्दै कुरा टुङगाएका थिए।

बन विभागका महानिर्देशक विश्वनाथ वलीले घटनाका विषयमा कतैबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिए। उनले भने,’मलाई केही थाह भएन। विभागमा कतैबाट कुनै दवाब आएको छैन।’

बागलुङबाट काठमाडौं आउँदै गरेका बस्नेतसहित ६ जनालाई मारेको मृगसहित प्रहरीले सोमबार बिहान धादिङबाट पक्राउ गरेको थियो। बस्नेत चढेको ना २ च ४०५७ नम्बरको पजेरोको पछाडि मरेको मृग लुकाइएको थियो। प्रहरीले बस्नेतको साथबाट एकथान टुटु म्याग्नम राइफल र १९ थान गोली पनि बारामद गरेको थियो। बस्नेतसँगै काठमाडौंका हरिश भण्डारी, रोशन खड्का, रमन राई, धनुषाका चन्द्र गदाइली र तनहुँका मदन थापापनि पक्राउ परेका थिए। यसअघि गत फागुनमा बस्नेतसहित काठमाडौंका लिलाबहादुर खड्का, जोन खड्का र सुनसरीका नेविसंघका पूर्वसहमहामन्त्री सचित शर्मालाई नविकरण नगरिएका हतियारसहित पक्राउ परेका थिए। त्यसबेला पनि उनीहरूमाथि मृगको शिकार गरेको आरोपमा प्रहरीले छानविन गरेको थियो। त्यसबेला नेविसंघले आफ्ना कार्यकर्तालाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै प्रदर्शनीसमेत गरेको थियो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।