छैटौँ पटक सम्म सत्प्रतिसत नतिजा

703 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, –  सामुदायिक विद्यालयहरुको नतिजा खस्किएको आरोप लागिरहँदा धादिङ जिल्लाको एक सामुदायिक विद्यालयले लगातार छैटौँ पटक एसएसली परीक्षामा सत्प्रतिसत नतिजा ल्याएको छ । यस वर्ष यस विद्यालयबाट सहभागि बिस जना विद्यार्थीहरु मध्ये छ जना विशिष्ठ र चौध जनाले प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन किलोमिटर दुरीमा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयले छैटौँ वर्षमा पनि एसएलसी परीक्षामा सहभागि सबै विद्यार्थी उत्तीर्ण गराएर जिल्लामा लगातार छ पटक सत्प्रतिसत विद्यार्थी उत्तीर्ण गराउने एक मात्र विद्यालय बनेको छ । विद्यालयले एसएलसी परीक्षामा सामेल भएको छ वर्षमा छ वटै वर्ष सत्प्रतिसत नतिजा ल्याउन सफल भएकोमा जिल्ला शिक्षा कार्यालय धादिङ लगायत शिक्षाविद्हरुले उक्त विद्यालयको खुलेर प्रशंसा गरेका छन् ।
विद्यालयले आयाजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्रराज सुवेदीले सुनौलो भैरवीको समफलताले सबै सरकारी विद्यालयलाई सचेत बनाएको बताउनुभयो । सुवेदी यस्ता विद्यालयलबाट अन्य विद्यालयले धेरै सिक्नु आवश्यक रहेको बताउनु भयो । जिशिअ सुवेदीले मुलुककै नमूना विद्यालय भएकाले विद्यालयको भौतिक र शैक्षिक विकासमा खुलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व सभासद रामनाथ अधिकारीले शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेपले पनि सरकारी विद्यालयका शैक्षिक अवस्था खस्कँदै गएको बताउनुभयो । अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीको सकारात्मक मेलबाट मात्र स्तरीय नतिजा आएको बताउनु भयो ।
कार्यक्रममा सहभागि पत्रकार पत्रकार महासँघ धादिङका अध्यक्ष नवराज छत्कुली, सामजसेवी टंक काप्री लगायतले त खुलेरै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालयको सफलतालाई सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरुको देन मान्दै विद्यालयका प्रधानाध्यापक मुरारी अधिकारीले गरिव, दलित र असहाय बालबालिकाको पहुँच रहेको विद्यालयले सफलता प्राप्त गर्न अझै धेरै काम गर्न बाँकि रहेको बताउनु भयो । अधिकारीले असल शिक्षक र उत्तरदायी अभिभावक कारण विद्यालयले राम्रो नतिजा ल्याएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले पनि अब समायानुकुल पठनपाठनको शैलीलाई परिवर्तन गर्नुपर्ने र सरकारले युवा शक्तिलाई शैक्षिक क्षेत्रमा प्रवेश गराउन निश्चित योजना अगाडि सार्नुपर्ने बताउनु भयो ।
धादिङ जिल्लाका सामुदायिक विद्यालयहरु तर्फ नमुना विद्यालय बनेको यस विद्यालयमा निमावि र मावि शिक्षक दरवन्दी राज्यले उपलब्ध गराएको छैन । अठार शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा प्राथमिक तहका तीन स्थायी र एक राहत दरबन्दीमात्र रहेको विद्यालय प्रधानाध्यापक रमेश गुरुङले बताउनु भयो ।