गोगनपानीमा क्षेत्रीय स्तरको सार्वजनिक सुनुवाई कार्यक्रम

525 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गोगनपानी–जिल्ला विकास समिति तथा अन्य सरकारी कार्यालयवाट चालु आर्थिक बर्षमा प्रवाह भएका सेवा सुविधा, विकास निर्माण तथा वजेट कार्यान्वयनका बिषयमा क्षेत्रीय स्तरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
SAM_2996SAM_2990जिल्ला विकास समिति धादिङको आयोजना एवम नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको संयोजनामा गोगनपानी गाविसको चकमकेमा सोमवार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा उठेका विभिन्न सवालहरुको जवाफ दिंदै स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले विकास निर्माणका योजनाहरु सहि ढंगवाट सम्पन्न गर्न स्थानीय समुदाय र सरोकारवाला निकायले समयमै चासो राख्नुपर्नेमा जोड दिनुभएको थियो । विकास निर्माण तथा अन्य कार्यक्रम तय गर्न जिल्ला विकास समिति र गाउं विकास समितिलाई अधिकार भएपनि स्थानीय उपभोक्ता र सरोकारवाला निकाय जागरुक नहुने हो भने कुनै पनि योजना र कार्यक्रम सम्पन्न हुन नसक्ने स्थानीय विकास अधिकारीको भनाई थियो ।
कार्यक्रममा उठेका विभिन्न सवालहरुमा जिल्ला प्राविधिक कार्यालय धादिङका प्रमुख जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्य, जिल्ला विकास समितिका इन्जिनियर कृष्णलाल श्रेष्ठ लगायतले जवाफ दिनु भएको थियो । जिल्लाको कल्लेरी, गोगनपानी,केवलपुर, जिवनपुर, भुमेस्थान लगायतका गाविसका राजनैतिक दलका प्रतिनिधि,स्थानीयवासी, गाविस सचिवहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले बिशेष गरी सितापाईला, भिमढुङ्गा,लामिडांडा गल्छि सडक निर्माण शुरु भएको ३० बर्ष लाग्दा पनि सडकको निर्माण कार्य सम्पन्न हुन नसकेको, केवलपुर गाविसका विभिन्न स्थानमा खानेपानीको समस्या बढ्दै गएको, इलाका भेलाबाट छनौट गरिएको योजना जिल्ला परिषदले अस्विकृत गरेको, आर्थिक बर्षको अन्तिममा योजनाहरु कार्यान्वयन हुन नसकेको लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।
यसैगरी गोगनपानी गाविसको पैरेमा आठ जना बिद्यार्थी लिएर शिक्षकहरु जागिर मात्र खाईरहंदा पनि जिल्ला शिक्षा कार्यालयले चासो नदेखाएको,गोनपानी गाविसको पिप्ले गाउंमा बर्षौदेखि विजुली भएर पनि राम्रोसंग उपभोग गर्न नपाएको ,कृषि सेवा केन्द्र महादेववेसीवाट नौविसे सारिएपछि गोगनपानीका वासिन्दाले सेवा पाउन नसकेको, सामुदायिक वन जवरजस्ति फडानी भईरहेको बिषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा जिल्ला विकास समिति वाहेका अन्य जिम्मेवार सरकारी निकायका प्रतिनिधिको उपस्थिती नभएका कारण ति बिषयहरुमा जिल्लातहमा छलफल गरिने स्थानीय विकास अधिकारी तामाङले वताउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नुको महत्वका बिषयमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी गराउनु भएको थियो भने केवलपुर गाविसका सचिव अर्जुन गौतम र गोगनपानी गाविसका सचिव पुण्यप्रसाद नेपालले स्थानीय विषयका वारेमा जानकारी गराउनु भएको थियो ।