नौओटा जिल्लाले गर्छन् ६९ प्रतिशत निक्षेप सङ्कलन

692 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– पोखरा क्षेत्रमा सबैभन्दा धेरै ७.९ प्रतिशत
– धनगढी क्षेत्रमा सबैभन्दा कम १.५ प्रतिशत

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपको ६८ दशमलव ७ प्रतिशत नौओटा जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र दोलखा)मा मात्र सङ्कलन हुँदै आएको छ । बैङ्क तथा वित्तीय संस्थालाई मोफसलमा निक्षेप सङ्कलन गरी काठमाडौं उपत्यकामा कर्जा प्रवाह गर्दै आएको आरोप लागिरहेको समयमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको समष्टिगत अर्धवार्षिक प्रतिवेदनमा यस्तो देखिएको छ । ती जिल्लामा अधिकांश ठूला बैङ्क तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय रहनुका साथै ठूला उद्योगी व्यवसायी र निक्षेपकर्ता पनि त्यसै क्षेत्रमा रहेकाले अधिकांश निक्षेप काठमाडौं क्षेत्रबाट सङ्कलन हुँदै आएको राष्ट्र बैङ्कले बताएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकाबाहिरका क्षेत्रमध्ये सबैभन्दा धेरै पोखरा क्षेत्र (कास्की, स्याङ्जा, गोर्खा, तनहुँ, लमजुङ, बाग्लुङ, पर्वत र म्याग्दी) मा ७ दशमलव ९ प्रतिशत र सबैभन्दा कम धनगढी क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी)मा १ दशमलव ५ प्रतिशत निक्षेप सङ्कलन हुँदै आएको छ ।

यसैगरी अध्ययन क्षेत्रमा समेटिएका बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा काठमाडौं क्षेत्रको अंश ५८ दशमलव ६ प्रतिशत रहेको छ । काठमाडांै उपत्यकाबाहिरका क्षेत्रमध्ये सबैभन्दा धेरै विराटनगर क्षेत्र (इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा र सप्तरी) मा १० दशमलव ३ प्रतिशत र सबैभन्दा कम जनकपुर क्षेत्र (सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुर) मा २ दशमलव ३ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप ७ दशमलव ४ प्रतिशतले बढेर रू. १२ खर्ब ९० अर्ब ३६ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो निक्षेप ६ दशमलव ३ प्रतिशतले बढेको थियो । अध्ययनमा समेटिएका क्षेत्रमा बैङ्किङ सेवामा विकास तथा विस्तार भएको, वित्तीय साक्षरता बढेको र विप्रेषणमार्फत सर्वसाधारणको पहुँचमा पैसा (नगद) पुगेकोलगायत कारण निक्षेप सङ्कलनमा वृद्धि भएको हो ।

यद्यपि बैङ्कहरूले निक्षेप सङ्कलन तथा कर्जा विस्तारसम्बन्धी निर्णय गर्दा काठमाडौं उपत्यका र मोफसल भनेर विभेद गर्ने नभई सम्भावित जोखीम र प्रतिफललाई आधार बनाइने बैङ्कर्स सङ्घका उपाध्यक्ष एवम् एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले अभियानलाई बताए । ‘शतप्रतिशत कर्जा उठ्ने (पुनर्भुक्तानी) र उच्च प्रतिफलका क्षेत्रलाई प्राथमिकता दिन्छौं,’ उनले भने । अधिकांश आर्थिक गतिविधि काठमाडौं उपत्यका क्षेत्रमै हुने भएकाले निक्षेप सङ्कलन अनुपात पनि सोही क्षेत्रमा धेरै देखिएको हुन सक्ने उनले बताए ।

काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा पूर्वाधारको कमीका कारणले आर्थिक गतिविधि कम हुने र त्यसले कर्जा तथा निक्षेप सङ्कलनमा पनि कमी ल्याउने उनले बताए । तर, बैङ्कहरूले मोफसलमा निक्षेप सङ्कलन गरेर काठमाडौं उपत्यकामा कर्जा प्रवाह गर्छन् भन्ने आरोप सत्य नभएको उनले दाबी गरे ।
गत जेठ मसान्तसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप रू. ११ खर्ब ४५ अर्ब रहेको छ । उल्लिखित तथ्याङ्कमा करीब ६९ प्रतिशत काठमाडौ क्षेत्रको अंश मान्दा करीब रू. ७ खर्ब ९० हुन आउँछ । सो अवधिमा बाँकी रू. ३ खर्ब ५४ अर्ब मात्र काठमाडौं क्षेत्रबाहेकका क्षेत्रका बैङ्कहरूले सङ्कलन गरेको देखिन्छ ।

राष्ट्र बैङ्कले आव २०७०/७१ देखि आफ्ना काठमाडौं उपत्यकाबाहिरका कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)का कार्यक्षेत्रअन्तर्गतका ४७ ओटा जिल्लाकोे समग्र आर्थिक गतिविधिसम्बन्धी विभिन्न तथ्याङ्क एवम् सूचना र स्थलगत अध्ययनका अर्धवार्षिक प्रतिवेदन तयार पार्दै आएको छ । अध्ययन क्षेत्रमा वाणिज्य बैङ्कका १ हजार ३ सय ८५, विकास बैङ्कका ७ सय ४५, वित्त कम्पनीका २ सय ४० र लघुवित्त विकास बैङ्कका ६ सय ७४ गरी ३ हजार ४४ ओटा शाखा सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौं क्षेत्रमा सबैभन्दा बढी ८ सय ९५ ओटा र धनगढी क्षेत्रमा सबैभन्दा कम १ सय ४१ ओटा शाखा सञ्चालनमा रहेका राष्ट्र बैङ्कले बताएको छ आर्थिक अभियान दैनिकले खबर लेखेको छ ।