आलु धार्नीको एक सय नाघ्यो

755 पटक पढिएको

सम्पादक: Dhadingnews.com

आलु धार्नीको एक सय नाघ्यो
काठमाडौं- आम भान्छाको आधारभूत तरकारी आलुको खुद्रा मूल्य धार्नीको सय रुपैयाँ नाघेको छ। अर्को आधारभूत तरकारी प्याजको भाउ पनि त्यसैगरी अकासिएको छ। एक महिनाको अवधिमा यी दुवैको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

आलु र प्याजको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा रातो आलुको मूल्य प्रतिकिलो ३८ रुपैयाँ पुगेको छ। जेठमा यसलाई २८ रुपैयाँ तिर्नुपर्थ्यो। जेठ पहिलो साता २५ रुपैयाँ रहेको सेतो आलुको मूल्य किलोको ३१ रुपैयाँ पुगेको छ। प्याज किलोको ३६ रुपैयाँ पुगेको छ। जेठमा यो २८ थियो।

उपभोक्ताको घरछेउका तरकारी बजारमा एक धार्नी आलुलाई सय रुपैयाँ तिर्नुपर्छ। कतैकतै त त्यो भन्दा पनि बढी। लगनखेलमा आलु किन्दै गरेका थसिखेलका श्रीराम रायमाझीले एक धार्नी रातो आलु किन्न एक सय २० रुपैयाँ तिर्नुपरेको बताए। ‘यसरी भाउ बढेपछि कसरी खर्च धान्नु?’ उनले उल्टै प्रशन गरे।

खुद्रा बजारमा सेतो आलु धार्नीको एक सय रुपैयाँ र प्याज किलोको ४५ रुपैयाँ नाघिसकेको छ। कालीमाटी तरकारी बजारमा गत शुक्रबार रातो, सेतो आलु र प्याजको खुद्रा मूल्य क्रमशः ४५, ३७ र ३९ रुपैयाँ प्रतिकिलो थियो।

आलु र प्याजको मुख्य स्रोत भारतमै भाउ बढेकोले यहाँ असर परेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठ बताए। ‘स्वदेशी आलु र प्याजले धान्दैन। अहिले भारतमै यी दुईको मूल्य बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा हाम्रो बजारमा सस्तो अपेक्षा गर्न सकिँदैन।’ आन्तरिक बजारको आवश्यकता परिपूर्ति गर्न भारतले केही दिनअघि प्याज निकासीमा प्रतिबन्ध लगाइसकेको छ।

यस वर्ष भारत र नेपाल दुवैमा पर्याप्त आलु र प्याज उत्पादन हुन नसकेकाले पनि मूल्यमा चाप परेको उनले बताए। मूल्य बढ्दै गएको र मनसुनमा तरकारी ल्याउन सहज नहुने भएकाले मनसुनभर मूल्य घट्ने आशा गर्न नसकिने श्रेष्ठले बताए।

कालीमाटी तरकारी बजारमा अहिले दैनिक सात सय टन तरकारी तथा फलफूल भित्रिन्छ। त्यसमध्ये करिब एक सय ५० टन आलु हुन्छ। उपत्यकामा उपभोग हुने आधा आलु भारतबाट ल्याइन्छ। राजधानीमा सिन्धुपाल्चोकको मुडे, काभ्रेको पाँचखाल, दोलखा, झापा, धादिङलगायत स्थानबाट आलु भित्रिने भए पनि यो सिजको आलु तयार नभएकोले बजारमा आउन नसकेको श्रेष्ठले बताए।

नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय स्थितिसम्बन्धी तथ्यांकले चालु आर्थिक वर्षको पहिलो १० महिनामा तरकारीको मूल्य ३१.६ प्रतिशतले बढेको देखाउँछ। तैपनि आलुको मूल्य एक वर्षमा झण्डै दोब्बर भएको छ। गत वर्ष असार पहिलो साता काठमाडौंको बजारमा रातो आलुको थोक मूल्य एक किलोको २१ रुपैयाँ थियो। गत साता ३८ रुपैयाँ पुग्यो। एक वर्षको यो मूल्यवृद्धि ८० प्रतिशतभन्दा धेरै हो। सेतो आलुको मूल्य पोहोर असार पहिलो साता एक किलोका १६ रुपैयाँ रहेकोमा यसपालि ३१ पुगेको छ। खुद्रा मूल्य त दोब्बरभन्दा माथि पुगेको बताइन्छ।

राजधानीको तरकारी बजारमा जेठदेखि स्वदेशी आलु भित्रिन नसकेको बल्खु तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवर बताए। ‘विगत एक महिनादेखि आलुको आन्तरिक उत्पादन छैन। अब विस्तारै उत्पादन बढे मूल्य घट्न सक्छ,’ उनले भने। भारतबाट आयात गर्दा नै बढी तिर्नु परेकाले यहाँ मूल्य बढेको कुँवरले बताए। बल्खु तरकारी बजारमा दैनिक चार सय मेटि्रक टन तरकारी तथा फलफूल भित्रिने गरेको छ।

भारतीय बजारमा आलु र प्याजको मूल्य बढ्ने क्रममा छ। यो सातामात्रै भारतीय थोक बजारमा प्याजको मूल्य एक किलोको २५ भारु र आलुको पनि सोही हाराहारी पुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो साता त्यहाँ आलुको मूल्य प्रतिकिलो तीनदेखि पाँच भारुसम्म र प्याजको प्रतिकिलो चारदेखि ६ भारुसम्म बढेको छ।

भारतमा प्याज उत्पादन गर्ने विभिन्न प्रान्तमा असिनापानीले बाली बिगारेको र ढिलो मनसुन सुरु भएकाले आउने अक्टोबरमा त्यहाँ प्याजको मूल्य किलोको एक सय भारुसम्म पुग्न सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ। आलुको मूल्य केही घटे पनि प्याज निकै महँगो हुने समाचारमा उल्लेख छ। भारत सरकारले देशमा तरकारीको सहज आपूर्ति गराउन निर्यातमा कडाइ गरेपछि नेपाली बजारमा केही महिनामै भारतबाट आउने तरकारीको अभाव हुने र अत्याधिक मूल्य वृद्धि हुने अनुमान गरिएको छ।

अदुवा किलोको २१७

जेठ पहिलो साता एक किलोको एक सय ९७ रुपैयाँ तोकिएको अदुवाको थोक मूल्य असारको पहिलो साता दुई सय १७ पुगेको छ। एक महिनाकै अवधिमा यसको मूल्य २० रुपैयाँ बढेको छ।

वैशाखदेखि साउनसम्म अदुवा उत्पादन नहुने भएकाले मूल्य बढ्ने गरेको हो। कात्तिकदेखि माघसम्म उत्पादन हुन थालेपछि विस्तारै मूल्य घट्ने व्यापारी बताउँछन् । राजधानीमा भारतसहित धादिङ, चितवन, नुवाकोट, मकवानपुर लगायतका जिल्लाबाट अदुवा भित्रिने गरेको छ नागरिक न्युज डट कमले खबर लेखेको छ ।