दुई स्रष्टालाई किरण केसीको सम्मान

579 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दुई स्रष्टालाई किरण केसीको सम्मान
काठमाडौं– हाँस्यकलाकार किरण केसीले ५७ औं जन्मदिन मनाउने क्रममा हाँस्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने दुई स्रष्टालाई सम्मान गरेका छन्। हाँस्यव्यङ्ग्यकार रामशेखर नकर्मी र पुष्करलाल श्रेष्ठ १० हजार नगदसहित सम्मानित भए।
आइतबार जन्मदिन मनाउने क्रममा उनले हाँस्यव्यङ्ग्य र नेपाली समाज विषयमा बहससमेत चलाए। ‘असार १५ मा हाँस्यव्यंग्यमा सक्रिय भएका स्रष्टाहरुलाई सम्मान गरेर जन्मदिन मनाउन मन लाग्यो। हाँस्यकलाकारहरूको जमघट हुने हुँदा हाँस्यव्यङ्ग्यमाथि अन्तर्क्रियासमेत राखेको हुँ,’ केसीले भने।
अन्तर्क्रियामा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा हाँस्यकला विधाले पाएको सफलतामाथि प्रकाश पारे। ‘हाँस्यव्यङ्ग्यले सामाजिक र राजनीतिक कुरालाई व्यङ्ग्यात्मक ढंगले दर्शकसामु ल्याउने प्रयास गरेको छ। कलाकारहरूले समाजमा भएको परिवर्तनलाई अभिनयको माध्यमले चित्रण गर्दा वास्तविकतासमेत ल्याउन सक्नुपर्छ,’ उनले भने।
त्यस्तै अभिनेता हरिवंश आचार्यले समाजमा भएका नकारात्मक कुरालाई व्यंग्यात्मक शैलीमा ल्याउनुपर्ने धारणा राखे। ‘कहिलेकाहीँ मनपरी शैलीमा गरिने व्यङ्ग्यले कलाकारको अभिनयमाथि प्रश्न उठ्ने गरेको छ। समाजप्रति हाम्रो भूमिका महत्त्वपूर्ण छ। हाँस्यव्यङ्ग्यको भविष्य राम्रो छ,’ उनले भने। कार्यक्रममा जितु नेपाल, शिवहरि पौडेल, चट्याङमास्टर, रामकुमार पाण्डे र दिपाश्री निरौलालगायतले बोलेका थिए नागरिक न्युज डट कमले खबर लेखेको छ ।