भिमढुङ्गा लामिडांडा सडक निर्माण थालेको २८ बर्षमा ४५ किमि

833 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
SAM_3058लामिडांडा (धादिङ) ,- नौविसे नागढुङ्गा सडकको बैकल्पिक मार्गको रुपमा २०४३ सालवाट निर्माण शुरु गरिएको भिमढुङ्गा लामिडांडा सडक ( सितापाईला वाट गल्छि जोडिने सडकको निर्माण शुरु भएको २८ वर्ष वितिसकेको छ । धादिङको गल्छिवाट गोगनपानी,केवलपुर,जिवनपुर र छत्रेदेउराली गाविस हुंदै काठमाण्डौंको सितापाईला जोड्ने लक्ष्यका साथ जर्मन विकास नियोग (जिटिजेड)ले २०४३ सालमा यस सडकको निर्माण शुरु गरेको थियो । पृथ्वीराजमार्गको गल्छि देखि सितापाईला सम्मको ५२ किलोमिटर दुरीमा पृथ्वीराजमार्गको वैकल्पिक सडक निर्माण गर्न २८ बर्ष अघि शुरु गरिएको सडकको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । विदेशी दात्तृ निकाय, नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीय गाविस कार्यालय,सांसद विकास कोषका साथै अन्य सहयोगी निकाय समेतको गरी २८ बर्षमा २० करोड भन्दा बढी रकम सडक निर्माणमा खर्च भईसकेको विभिन्न अध्ययनहरुले देखाएको एकीकृत नेकपा माओवादी केवलपुर गाउं कमिटीका अध्यक्ष रामवहादुर आचार्यको भनाई छ । तत्कालिन धादिङ जिल्ला पञ्चायतका जनपक्षिय सभापती राजेन्द्र पाण्डेको सिफारिशमा जर्मन विकास नियोग (जिटिजेड)ले धादिङ जिल्लाको पुर्वाधार विकासका लागि शुरु गरेको सितापाईला गल्छि सडक र धादिङबेसी सल्यानटार सडकको निर्माण शुरु गरेको थियो । पछिल्लो समयमा दुवै सडक सरकारको केन्द्रिय वजेटका साथै विदेशी दाताहरुको सहयोगमा निर्माण हुंदै आईरहेको छ । धादिङबेसी सल्यानटार सडकमा बर्षायामको तीन महिना वाहेक वांकी समयमा जेनतेन मोटर संचालनमा आएपनि सितापाईला गल्छि सडकमा भने अझै पनि निर्वाध रुपमा मोटर चल्न नसकेको स्थानीय वासी वताउंछन । २०५५ सालमा गल्छि सितापाईला सडकको एक तर्फि सञ्जाल जोडिएको भएपनि अहिले गोगनपानी गाविसको चकमके सम्म जेनतेनले मोटर आउने गरेको तर वांकी खण्डमा भने सडकको स्वरुप मात्र वांकी रहेको गोगनपानी गाविसका पुर्व अध्यक्ष भरत तामाङ बताउंछन । पृथ्वीराजमार्गको निर्माण हुनुभन्दा अघि देशका पश्चिम भेगवाट राजधानी आउने मुलवाटो भएका कारण भिमढुङगा लामिडांडाको ऐतिहासिक महत्व जोगाउन सडकको निर्माण थालिएको भएपनि २८ बर्ष सम्म ५२ किलोमिटर सडक सम्पन्न हुन नसक्दा राज्यको करोडौं रकम बर्षेनी सडकमा खर्च भईरहेको तामाङले वताए । गल्छि सितापाईला खण्डमा पर्ने धादिङको चार गाविस ( गोगनपानी,केवलपुर,जिवनपुर र छत्रेदेउराली) लाई लामिडांडाको रुपमा चिनिने भएकाले यस सडकलाई गल्छि सितापाईला संगै भिमढुङगा लामिडांडा भनेर पनि चिनिने गरेको तामाङको भनाई छ । सडक निर्माणका लागि विदेशी सहयोगी निकायका साथै सरकारको केन्द्रिय वजेटका साथै स्थानीय स्तरमा अन्य श्रोतवाट संकलित रकम समेत लगानी भईरहेको र अहिले सम्म ४५ किलोमिटर सडकमा हिउंद बर्षानै मोटर चल्न सक्ने अवस्था रहेको जिल्ला विकास समितिका इन्जिनियर कृष्णलाल श्रेष्ठ वताउंछन । सडकको निर्माण शुरु भएको धेरै बर्ष हुनुका साथै केन्द्रिय स्तरवाट वजेट विनियोजन हुने भएकाले जिल्ला विकास समितिमा यस्को हर हिसाव नभएको इन्जिनियर श्रेष्ठले वताए । पृथ्वीराजमार्गको गल्छिवाट काठमाण्डौंको दुरी ४८ किलोमिटर मात्र रहेको भएपनि बर्षायाममा नौविसे नागढुङ्गा सडक खण्ड अधिकांश समय अवरुद्ध हुने गरेकाले त्यसको विकल्पमा गल्छि सितापाईला सडकको निर्माण शुरु गरिएको इन्जिनियर श्रेष्ठको भनाई छ । सडक निर्माण शुरु भएको धेरै बर्ष भईसक्दा पनि निर्माण सम्पन्न नहुंदा जनगुनासो आउनु स्वभाविक भएको प्राविधिकहरुको भनाई छ । स्तरीय सडक निर्माणका लागि नाली, कल्भर्ट, मेसिनरी वाल, ढुङगा पिचिङ, ग्राभेलका साथै १८ किलोमिटर दुरीमा ओटासिल समेत गरेर सडक निर्माण गरिएको जिल्ला विकास समिति धादिङले जनाएको छ । गल्छि सितापाईला सडक निर्माण पछि नौविसे नागढुङगा सडकको बिकल्पका रुपमा प्रयोगमा ल्याउन सकिने साथै राजधानीवाट वाहिरिने र राजधानी प्रवेश गर्ने सवारी साधनको चाप एउटै सडकमा कम पर्ने प्राविधिकहरु बताउंछन । अहिले पनि सडकको निर्माण कार्यजारी रहेकोले सडक निर्माण कार्य सम्पन्न भएपछि धादिङ जिल्लाको १० र नुवाकोट जिल्लाको १५ गाविसका वासिन्दाले राजधानी जोडिने छोटो मार्गका रुपमा प्रयोगमा ल्याउन सक्ने छन ।साथै कृषि तथा पशुपालनका लागि चर्चित रहेको लामिडांडा क्षेत्रका किसानले आफ्नो उत्पादन सजिलै संग राजधानी लैजान सक्ने इन्जिनियर श्रेष्ठ बताउंछन ।