सामुदायिकमा पढेकालाई अवसरै अवसर

710 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Studentकाठमाडौ, १७ असार । सरकारले सामुदायिक विद्यालयप्रति उत्प्रेरित गर्न उच्च शिक्षामा छात्रबृत्ति दिने योजना अघि बढाएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् र सीटीइभीटीले यस बर्षदेखि पूर्ण रुपमा सामुदायिक अध्ययन गरेका विद्यार्थीलाई मात्रै छात्रबृति दिने व्यवस्था गरेको छ । परिषद्ले बाषिर्क करिब ९ हजारलाई पूर्ण छात्रबृति दिदै आएको छ । त्यस्तै सीटीइभीटीबाट १ हजार भन्दा बढीले छात्रबृति पाउँछन् ।

परिषद्ले कुनै कलेजमा भर्ना भएका विद्यार्थीको तीन र सीटीइभीटीले १० प्रतिशत छात्रबृतिको व्यवस्था गरेको छ । दुवै संस्थाले बिगतमा नीजि विद्यालय अध्ययन गरेकालाई पनि छात्रबृति दिने गरेको थियो । ‘सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थीले चौतर्फी सुविधा पाउछन,’ परिषदा सहसचिव नारायण कोइरालाले भने, ‘उच्च मावि तहमा मात्रै होइन, माथिल्लो तहमा अध्ययन गर्न पनि छात्रबृति पाउने व्यवस्था छ ।’

शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रबृतिमा सामुदायिक विद्यालय अध्ययन गरेकालाई प्राथमिकता दिइने गरेको छ । छात्रबृति सम्बन्धी नियमावलीमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये ४५ प्रतिशत सामुदायिकबाट एसएलसी उत्तीर्ण गरेकालाई दिने उल्लेख छ ।

आर्थिक वा सामाजिक रुपमा विपन्न, महिला, अपाङ्ग, जनजाति, दलित, जनआन्दोलनका घाइते, सहिद, पिछडिएको दुर्गम क्षेत्रका छात्रबृति लिन सामुदायिक विद्यालय पढेको हुनुपर्छ ।

प्राविधिक शिक्षा अध्ययन गर्न गत बर्षसम्म नीजि विद्यालय पढेकाले पनि छात्रबृति पाउने भर्ना निर्देशिका संसोधन गरी यस बर्ष सामुदायिकमा पढेकालाई मात्रै दिने व्यवस्था गरेको हो ।

शिक्षा मन्त्रालय अन्तर्गतकै इभेन्ट परियोजनाले यस बर्ष २ हजार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृति दिने कार्यक्रम छ । ‘इभेन्ट छात्रबृति’ पाउन पनि सामुदायिक पढेका विद्यार्थी प्राथमितामा पर्छन । कान्तिपुर दैनिकबाट