गाँजा मास्न प्रहरी टोली दक्षिणी धादिङको महाभारत क्षेत्रको गाउँगाउँमा

950 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_3265धादिङ, २१ असार  – अबैध लागु औषध चरेस बनाउन प्रयोग हुने गाँजा खेती नष्ट गर्न प्रहरीको टोली दक्षिणी धादिङको महाभारत क्षेत्रमा पुगेको छ ।

विशेष प्रहरी टोलीलाई सात समूहमा बिभाजन गरी शुक्रवारदेखि पीडा र किरान्चोक गाविसमा गाँजा फडानीमा परिचालन गरेकोे प्रहरी प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो । अबैध मानिएको गाँजा खुलेआम खेती भइरहेको सूचनाको आधारमा प्रहरी त्यस तर्फ लागेको हो ।

प्रहरी टोलीले पीडा गाविसको वडा नम्बर ७, ८ र ९ को करिब एक हजार रोपनी क्षेत्रफलको गाँजा फडानी गरेको छ । आइतबार किरान्चोक गाविसको वडा नम्बर ४ र ५ मा पुगेर गाँजा फडानी गर्ने प्रहरीको तयारी छ ।

अन्नवालीको उत्पादन निकै कम हुने धादिङ, चितवन र मकवानपुर जिल्लाको उच्च भूभार्ग  महाभारत क्षेत्रमा बर्षौदेखि अबैध गाँजा खेती हुँदै आइरहेको छ । यस क्षेत्रका किसानहरुले मकैवालीसंगै गाँजा खेती गर्छन् ।

 परम्परागत रुपमा गर्दै आएको गाँजा खेती विस्थापन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै गृह मन्त्रालय लागु औषध नियन्त्रण महाशाखाले जेठ २९ गते किरान्चोक, पीडा, महादेवस्थान लगायतका गाविसमा किसानहरुसँग अन्तरक्रिया समेत गरेको थियो । अन्तरक्रियापछि अबैध गाँजा खेती भइरहेको सम्भावित क्षेत्रको पहिचान गरेर नष्ट गर्न स्थानीय प्रशासनले प्रहरी खटाएको हो ।

अन्तरक्रियामा गाँजा खेती विस्थापन गर्न किसानलाई कृषि तथा पशुपालन र गैह्रकाष्ठ वन पैदावारमा प्याकेज कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागिरहेको गृह मन्त्रालयका उपसचिव ऋषिराम तिवारीले बताउनुभएको थियो ।

गाँजा तथा चरेसको व्यापार रोक्न बर्षेनी स्थानीय प्रशासनले बिशेष पहल गरेपनि न्यूनिकरण हुन सकेको छैन । अहिले पनि धादिङ जिल्लाका ३५ जना गाँजा तथा चरेस ओसार पसारमा संलग्न रहेको आरोपमा विभिन्न जेलमा छन् ।  गाँजा खेती विस्थापन गर्न केन्द्रीय र जिल्ला स्तरबाट वैकल्पिक तथा दिगो आर्यआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

शिवरात्रीमा सन्तमहन्तलाई सरकारी स्तरबाटै गाँजा वितरण गर्ने परम्परा अन्त्य भई लागु औषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागु औषध नियन्त्रण रणनीति २०६६ जारी भएको छ । धादिङमा वर्षौदेखि गाँजा खेती हुँदै आइरहेको भएपनि त्यसका लागि जिल्ला वाहिरका व्यक्तिहरुका साथै भारतीय नागरिकहरुले समेत खेतीका लागि लगानी गर्ने गरेको पाइएको छ ।