सदरमुकामकै वजारमा अखाद्य वस्तुको बिक्री

942 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Masu-anugamanधादिङ, २३ असार  – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको वजारमा अखाद्य वस्तुहरुको बिक्री बितरण हुने गरेको पाईएको छ । वजारमा बिक्री भईरहेका पेय तथा खाद्यबस्तुहरुको वजार अनुगमनका लागि खटिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेत्तृत्वको टोलीले धादिङबेसी सिरान वजारक्षेत्रवाट त्यस्ता अखाद्यवस्तुहरु जफत गरेको छ । सोमवार विहान प्रमुख जिल्ला अधिकारी नेपालको नेत्तृत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले धादिङबेसी सिरान वजार क्षेत्रका ५ वटा पसलको नमुना अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलमा विस्कुट,चाउचाउ, प्याकेटमा रहेका जुसहरु, तरकारीमा प्रयोग हुने मसला लगायतका म्याद गुज्रेका खाद्य सामाग्रीहरु फेला पारेपछि ति सबै सामानहरु जफत गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । वजार अनुगमन नहुँदा मुल्यमा मनोमानी बढ्नुका साथै अखाद्य एवम म्याद गुज्रिसकेका सामानहरु उपभोक्ताहरुले किन्न र उपभोग गर्न वाध्य हुनुपर्ने भएकाले अवका दिनमा अनुगमनलाई आकस्मिक र निरन्तरता दिईने पनि प्रमुख जिल्ला अधिकारी नेपालले वताउनुभयो । अनुगमनका क्रममा उपभोक्ताले प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा मिति सकिएका,उत्पादन मिति नभएको तथा उत्पादक कम्पनिको  निर्धारित न्युनतम दरमा माथिवाट अर्को दर भएको स्टिकर टाँस गरेरसमेत बिक्री गरेको पाईएको अनुगमन टोलीले जनाएको छ । साथै कतिपय पसलले मुल्य सुचि समेत नराखी आफूखुसी मुल्यमा सामानहरु बेच्ने गरेको पाईएकोले त्यस्ता पसलेहरुलाई एक पटकको लागि सचेत गराईएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।