धादिङ देशको चौथो साक्षर जिल्ला घोषणा,मन्त्री यादवद्धारा भिडियो कलमार्फत सम्वोधन

1355 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एशोदा नेपाल SAM_3484धादिङ,- धादिङ जिल्ला अव पूर्ण साक्षर जिल्ला वन्न पुगेको छ । सन् २०१५ सम्म नेपाललाई पूर्ण साक्षर घोषणा गरिसक्ने सरकारी प्रतिवद्धता अनुसार आईतवार धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतवार भव्य कार्यक्रमको आयोजना गरी धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । यसअघि सिन्धुपाल्चोक ललितपुर र पाल्पा जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भईसकेका छन । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिलाई साधारण लेखपढ गर्न सक्ने वनाउंदा जिल्लाको साक्षरता प्रतिशत ९९.४ भएकाले धादिङ जिल्ला पूर्ण साक्षर जिल्ला वनेको हो । जिल्लामा अझै पनि केही व्यक्तिहरु साक्षर हुन वांकी रहेकाले ति सबैलाई आगामी दिनमा अनौपचारिक शिक्षाको माध्यमले साक्षर बनाई जिल्लालाई शतप्रतिशत साक्षर बनाउने अभियानमा जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कुनै निश्चित स्थानमा ९५ प्रतिशतभन्दा बढी साक्षर भएमा पूर्ण साक्षर भएको मानिन्छ । जिल्ला पूर्ण साक्षर भएको घोषणा सदरमुकामको नीलकण्ठ उच्च माविको प्राङ्गणमा आयोजना गरिएको थियो । निमित्त स्थानिय विकास अधिकारी एवम जिल्ला शिक्षा समितिका अध्यक्ष इन्जिनियर निर्मलदर्शन आचार्यको अध्यक्षतामा भएको घोषण कार्यक्रमका प्रमुख अतिथी शिक्षा मन्त्री चित्रलेखा यादव कार्यव्यस्तताका कारण कार्यक्रम स्थल आउन नसकेपछि स्काईपमा भिडियो कल मार्फत सम्वोधन गरी जिल्लालाई साक्षर घोषणा गरिएको थियो । शिक्षा मन्त्रीको अनुपस्थितीमा धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीले साक्षर जिल्ला घोषणा लेखिएको शिलालेखको अनावरण गरेका थिए । यसैगरी अनौपचारिक शिक्षा केन्द्रका निर्देशक वाबुराम पौडेलले जिल्ला साक्षर घोषणा भएकोमा शिक्षा मन्त्रालय मार्फत पांच लाख रुपैयाको चेक धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका थिए । जिल्लाका ४६ गाविस र १ नगरपालिकामा तोकिएको मापदण्डअनुसारको साक्षरता कक्षा संचालन भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्लाका रुपमा घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी सुवेदीले वताए । जिल्लालाई पूर्ण साक्षर घोषणा गर्नका लागि धादिङका तीनवटै निर्वाचन क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र शिक्षक जिल्ला सदरमुकाम धादिङबेसीमा भेला भएका थिए । उनीहरुले जिल्ला पूर्ण साक्षर भएको खुसीयालीमा जिल्ला सदरमुकाम धादिङबेसीमा र्याली तथा झांकी प्रदर्शन गरेका थिए । जिल्ला पूर्ण साक्षर भएको घोषणा मन्त्री यादवले भिडियो कन्फ्रेन्स मार्फत सम्वोधन गरेपछि सोही अवसरमा मन्त्रीका प्रतिनिधि सभासद गुरुप्रसाद वुर्लाकोटीले अनौपचारिक शिक्षा केन्द्रद्धारा जारी प्रमाणपत्र जिल्ला शिक्षा अधिकारी सुवेदी र जिल्ला शिक्षा समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी निर्मलदर्शन आचार्यलाई प्रदान गरेका थिए । निर्धारित लक्ष्य समयमै पूरा गरेकाले शिक्षा मन्त्रालयबाट ५ लाख रुपिया को चेक पनि जिल्ला शिक्षा कार्यालयले सोही कार्यक्रममा प्राप्त गरेको छ । कार्यक्रमलाइ सभासदहरु परशुराम तामाङ,दिलमान पाख्रिन, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक वावुराम पौडेलका साथै जिल्लाका राजनैतिक दलका प्रतिनिधि,शिक्षक संघ संगठनका प्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।