एउटा कोठाको भाडा मासिक १ लाख ३० हजार !

563 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
SAM_3982 - Copyधादिङ,  – धादिङ सदरमुकाम धादिङबेसीमा व्यापारिक प्रयोजनका लागि एउटा कोठा भाडामा लिनु पर्दा कति लाग्छ होला ? महिनाको पाँच हजार, १० हजार वा बढिमा २० हजार ? सबैको जवाफ यस्तै हुन सक्छ ।
पत्याउनै नसकिने दरमा एउटा कोठा भाडामा लागेपछि यतिबेला सदरमुकाम धादिङबेसीका बासिन्दा आश्चर्यचकित भएका छन । सदरमुकाम धादिङबेसीस्थित जिल्ला बालकल्याण समितिको भवनमा फोटो स्टुडियो राख्न लागेको भाडाले सबैलाई आश्चर्यमा पारेको हो ।
जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि रहेको बालकल्याण समितिको भवन तीन वर्षदेखि भाडामा लाग्दै आएको छ । तीन वर्ष अघि ८ हजार ५ सयबाट सुरु भएको एउटा कोठाको भाडा दर तेश्रो वर्षमा आईपुग्दा १ लाख ३० हजार ९० पैसा प्रतिमहिना पुगेको छ ।
जिल्ला बालकल्याण समितिले आयआर्जनका लागि बनाएको एक कोठे भवन स्थानीय फोटो स्टुडियो सञ्चालक लालकाजी श्रेष्ठले टेण्डरमार्फत यो वर्ष १ लाख ३० हजार ९० पैसामा ठेक्कामा पाउनुभएको हो । तीन वर्ष अघि मासिक ८ हजार ५ सय रुपैयाँमा श्रेष्ठले फोटो स्टुडियोका लागि लिएकोमा अघिल्लो वर्ष टेण्डरमार्फत बालकृष्ण श्रेष्ठले ४५ हजार ६ सय ७८ रुपैयाँमा पाउनुभएको थियो । आफू बसिरहेको भवनमा टेण्डरमार्फत भाडा बढाएर बालकृष्णले फोटो स्टुडियो राख्नुभएको थियो । सदरमकुामको बजार क्षेत्रमा २० भन्दा धेरै फोटो स्टुडियोबाट पासपोर्टको एमआरपी फाराम भर्ने काम हुँदै आएपनि जिल्ला प्रशासन कार्यालयको मुल गेटमै रहेको भवनमा सञ्चालित स्टुडियोमा फोटो खिचाउने र फर्म भर्नेहरुको घुईंचो लाग्ने गरेको धादिङबेशीकै एक फोटो स्टुडियो सञ्चालकले बताए ।
पासपोर्टको फारम भर्न आउने सेवाग्राहीसँग फोटो स्टुडियोहरुले फोटो र फारमको शुल्क भन्दै प्रति व्यक्ति ३ सय ५० रुपैयाँसम्म लिँदै आएका छन् । बजारको अन्य स्थानमा भन्दा बालकल्याणको भवनमा कारोबार बढी हुने भएकाले जोखिम मोलेर आफूले मासिक १ लाख ३० हजार ९९ पैसामा टेण्डर लगाएर भवन भाडामा पाएको स्टुडियो सञ्चालक लालकाजी श्रेष्ठले बताउनुभयो ।
बजारको मुख्य चोकहरुमा रहेको घरमा व्यापारिक प्रयोजनका लागि ३० हजार रुपैयाँ लिँदा महँगो भएको जनगुनासो आएपनि सरकारी भवन भित्र अव्यवहारिक भाडा लिँदा पनि कसैले विरोध नगर्नु जायज नभएको सर्वसाधारणको गुनासो छ । सरकारी निकायले नै खुल्ला आव्हान गरेर एउटा कोठाको भाडा १ लाख ३० हजार कायम गरिदिएपछि भोली भवन भाडामा लिने व्यवसायीले आफू घाटामा गएको बहानामा सेवाग्राहीसँग मनोमानी शुल्क लिन सक्ने सर्वसाधारणको आशंका छ ।
जिल्ला बालकल्याण समितिका बालकल्याण अधिकृत हरी उप्रेतीले तीन वर्षअिघदेखि नै भवन भाडामा लगाउन थालेको बताउनुभयो । उहाँले प्रत्येक वर्ष टेण्डर आव्हान गर्दा व्यवसायीहरुले बढाएर राख्ने गरेकाले महँगो भएको बताउनुभयो ।
जिल्ला बालकल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल रहनुभएको छ । टेण्डर आव्हान गर्दा अघिल्लो वर्षको दरमा नघटाई आव्हान गरिएकोमा प्रतिस्पर्धामा आउनेले राखेको मध्ये सबैभन्दा धेरै रकम कबोल गर्नेलाई समितिले तोकेबमोजिमको मापदण्डमा रहि व्यवसाय गर्ने गरी ठेक्कामा दिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
भवनमा फोटो स्टुडियो र स्टेशनरी, फोटोकपी बाहेकको व्यवसाय गर्न नपाउने र ठेक्कामा भवन पाउनेले तीन महिनाको भाडा अग्रिम भुक्तानी गरेपछि तीन महिनाको लागि सम्झौता भएको र प्रत्येक तीन महिनामा शर्तको आधारमा सम्झौताको म्याद थपिँदै जाने व्यवस्था गरिएको छ ।