जीवनपुरमा पशु बधशाला खोल्ने तयारी” ५५ करोड लगानी “

808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

480X320_fb3ec51d389110f61c49a1738d538488काठमाडौं, – राजधानीको अव्यवस्थित मासु बजारलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले १९ किलोमिटर टाढा धादिङको जीवनपुर गाविसमा बधशाला स्थापना गर्ने भएको छ । 
कृषि विकास मन्त्रालय, पशु स्वास्थ्य विभाग, व्यवसायी र महानगरका पदाधिकारीबीच सोमबार भएको छलफलपछि बधशाला स्थापना गर्ने निर्णय गरिएको हो । यसका लागि महानगरले कृषि विकास मन्त्रालयमा सोमबारै प्रस्ताव पेश गरेको छ । जीवनपुर–९ को ६९ रोपनी जग्गामा ५५ करोड रुपैयाँ लगानीको प्रस्ताव महानगरले गरेको छ ।
बधशालालाई कम्पनीको रूपमा सञ्चालन गर्ने तयारी महानगरको छ । बधशाला स्थापनापछि राजधानीबाट सबै बधशाला हटाइनेछन् । सरकारले स्वीकृति दिए ५ वर्षभित्र बधशाला निर्माण गरिने  महानगरका जनस्वास्थ्य विभाग प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । प्रस्तावित आधुनिक बधशालाबाट दैनिक १ सय ५० मेट्रिकटन मासु उत्पादन गर्ने लक्ष्य छ । दैनिक १ हजार २ सय राँगा, खसी, कुखुरा बध गर्ने क्षमता रहनेछ ।
बज्राचार्यका अनुसार बिरामी पशु र बध गर्ने पालोमा रहेका पशुलाई छुट्टै राखिनेछ भने बधपूर्व पशुको स्वास्थ्य परीक्षण गरी टाँका लगाइनेछ ।
बधशालामा सरकारको ३० करोड, महानगरको ५ करोड, ललितपुर उपमहानगरको ४ करोड, भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिकको २ करोड ५० लाख रुपैयाँ लगानी हुनेछ । त्यस्तै, मासु व्यवसायीबाट ५ करोड ५० लाख, स्थानीय संघसंस्थाबाट १ करोड ५० लाख रुपैयाँ पनि उठाइनेछ । कम्पनीको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ५५ करोड रहने बज्राचार्यले बताए ।
प्रस्तावित बधशाला सञ्चालक समितिमा पशुसेवा विभागका सहसचिव अध्यक्ष, महानगरका कार्यकारी प्रमुख उपाध्यक्ष, ललितपुर उपमहानगरका कार्यकारी प्रमुख सदस्य–सचिव रहनेछन् । भक्तपुर, मध्यपुर ठिमी, कीर्तिपुर नगरपालिका र राजधानीका मासु व्यवसायी सदस्य रहने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका सहसचिव उत्तम भट्टराईले महानगरको पशु बधशालासम्बन्धी अवधारणा राम्रो भएको बताए । उनका अनुसार महानगरको प्रस्ताव दीर्घकालीन भएकोले अल्पकालीन रूपमा मन्त्रालयले हाल भएका बधस्थललाई चालू आवमा व्यवस्थित गर्ने तयारी गरिरहेको छ । उनी पशु बधशाला तथा व्यवस्थित मासु उत्पादन समितिका सदस्य–सचिवसमेत हुन् ।
हाल राजधानीका ६० बधशालाबाट दैनिक ७ देखि ८ सयसम्म पशु बध हुने गरेको महानगरको अनुमान छ । ४ हजारभन्दा बढी मासु पसल छन् । राजधानीमा मात्रै वार्षिक १३ अर्ब रुपैयाँबराबरको मासु खपत हुन्छ कारोवार डेलि डट कमले खबर लेखेको छ ।।