सिङ्ल्ह र गोने ङ्या

1255 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोपाल फ्युबा तामाङ

singlaa 3सिङ्ल्ह म्हानेइ मुक्पानङ रग्यु छनछन
(सिङ्ल्ह म्हानेको बादलभित्र भेडाबाख्रा चराउदा चराउदै),
सिङ्ल्ह म्हानेइ बुर्जरी तामार म्हेन्दो तर
(सिङ्ल्ह म्हानेको टाकुरोमा सेतो गुराँस फुल),
सिङ्ल्ह, पङ्सङ् मुप ङ्यङ्की गङ्सरी
(सिङ्ल्ह पङसङ छ हाम्रो भूमीमा),
डुब्ज्यु, सिङ्ल्ह, पेन्तिस्यारी टिपे म्हेन्दो त
(डुब्ज्यु, सिङ्ल्ह, पेन्तिस्यामा बस्ने मायालाई)
रोशन फ्युवा, मनोज लोप्चन र गोपाल फ्युवाले आफ्ना यी गीतहरूमा सिङ्ल्ह शब्द पारेका छन् । बिगत एक दशकको अवधिमा यसरी पटक पटकको रचनामा सिङ्ल्ह शब्द पर्नुले यसको महिमा उद्घाटन भएको छ । जिविस धादिङको सहयोगमा तातोपानी युवा समूहका मङ्ग तामाङले नेतृत्व गरी सिङ्ल्ह वृत्तचित्र समेत बनाइसकेको छ । मिलन साहित्य अभियानको दोस्रो श्रृङ्खला पनि यही सम्पन्न भए । जिविस धादिङले आफ्नो पर्यटकीय महत्त्वको स्थानहरू मध्ये सिङ्ल्ह पनि पारेका छन् । यस क्षेत्रका तामाङ लेखकहरू मानछिरिङ तामाङ र रामसिङ तामाङले आफ्ना पुस्तकहरूमा उल्लेख गर्न छुटाएका छैनन् । अनुसन्धानकर्ता बाबुराम फ्युबाले पनि सिङ्ल्हको चर्चा गरिएको छ ।
बोम्पोको अध्ययन गर्ने क्रममा तिन दाज्युभाइ डक्पा, शेल्पा र शेपाले पवित्र तथा ऐतिहासिक देव ब्यक्तिकोरुपमा सिङ्ल्ह ओकार भेट्न गएको भेटिन्छ । त्यसैले सिङ्ल्ह शब्द तामाङ खासगरी बोम्पो सम्प्रदाय मान्नेहरु माझ धेरै पहिलादेखि प्रचलनमा रहेका छन् ।

Shenlha Okar

“Shenlha Okar (Tibetan: shen lha o kar tsog shing) surrounded by the field of accumulation for the performance of Refuge (Tib.: kyab dro tsog shing), according to the system of Shardza Tashi Gyaltsen (1859 -1933) – based on his own visionary experience. White in colour, peaceful in appearance, he holds the two hands in the lap in the gesture of meditation. Adorned with a gold crown.”

विद्वान लेखक अजितमान तामाङले तामाङ जातिको चिनारी नामक पुस्तकमा सिङ्ल्ह पनि ताम्सालिङ क्षेत्रको एक ऐतिहासिक पर्यटकीय क्षेत्र भनी उल्लेख गरेका छन् । यी बृतान्तहरुले स्पष्ट पार्छ कि सिङ्ल्ह एक महत्त्वपूर्ण स्थान हो । यस आलेखमा सिङ्ल्हको महत्त्व, सम्भावना र अवस्थाबारे थप चर्चा गर्ने प्रयास गरिएको छ । साथै गोनेङ्या बारे पनि केही उठान गर्ने प्रयास गरिएको छ ।
धादिङ जिल्ला झार्लाङ गाविस वडा नं तिनमा सिङ्ल्ह रहेको छ । सिङ्ल्ह तामाङ शब्द सिङ र ल्ह मिलेर बनेको हो, जसको अर्थ चेली र देव÷लेक हुन्छ । आफ्ना दुई छोरी हैजाको कारण मृत्यु भएपछि राजाले एकको नाममा मन्त्र खोपेको सोकसिङ गाडेर सिङ्ल्हमा कुङ्कर बनाए र अर्कीको नाममा त्यसैगरी नुवाकोट जिल्लाको फ्युकुरीमा अर्को कुङ्कर बनाए भन्ने किम्बदन्ती पाइन्छ ।
अर्को किम्बदन्ती अनुसार मङ्च्यतमा गोठ ल्याएको एक गोठालाको सपनामा चमत्कारपूर्ण परीले त्यस ठाउँमा भक्तिभाव तथा पूजा अर्चना गर्नु भनेकाले त्यहाँ कुङ्कर स्थापना गरिएको हो भनिन्छ । बोन धर्मको प्रभाव रहेको त्यस बेला बोम्पोहरूलाई सुख, शान्ति र समृद्धिको लागि पूजापाठ गर्न लगाए । त्यो भदौपूर्णिमा (गोनेङ्या) को दिन परेकोले त्यही बेलादेखि प्रत्यक वर्ष गोने ङ्याको बेला बोम्पो मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ । अद्यापि रसुवा र नुवाकोटदेखिको बोम्पोहरू चेलालाई वाङकुर दिन वा आफै थप शक्ति प्राप्त गर्ने उद्देश्यले प्रत्येक गोने ङ्यामा आउने गर्दछन् । त्यसैले जुन आधार लिए पनि त्यो पूजापाठ गर्ने उद्देश्यले निर्मित एक पवित्र तिर्थस्थल हो । जसको महिमा तामाङ बोम्पो इतिहाससँग जोडिएको छ ।
यो साउन पच्चिस गते पनि गोने ङ्या परेको छ । गोने ङ्याको अवसरमा सिङ्ल्हमा भव्य मेला लाग्ने गरेको छ । गोने ङ्या भनेको भदौपूर्णिमा हो । यस दिन वोम्पो मान्नेले आफ्नो कुल अनुसारको लप्ताबा बोलाई विहानै पूजापाठ गराउने, नजिकैको थानमा धुपबत्ती बाल्ने र वली चढाउने गरिन्छ भने लामाहरूले आफ्नो बाजाको पूजापाठ गर्ने गर्दछन् । भाषाविद् अमृत योन्जन तामाङका अनुसार यस दिन गुरुको पूजा गर्दछ साथै बोम्पोले आफूसँग रहेको ज्ञानगुण आफ्ना नयाँ चेलालाई हस्तान्तरण गर्दछन् । बोम्पोले यसरी ज्ञान हस्तान्तरण गर्ने कार्यलाई वाङ्कुर भनिन्छ । बोम्पो परम्परा अनुसार यो एक ज्ञान उत्सवको दिन हो । यस दिन अग्ला अग्ला धार्मिक स्थानहरुमा रहेको कुङ्करमा ढ्याङ्रो बजाउदै दर्शन गर्न जान्छन् । उनीहरुले देवदेवीलाई साक्षी राखी नयाँ चेलालाई वाङकुर दिने गर्दछन् जसबाट चेला एकदमै निपुण, सक्षम एवम् सवल हुन्छन् भन्ने विश्वास गरिन्छ । विश्वविद्यालयहरूले गर्ने दीक्षान्त समारोहको रुपमा समेत लिन सकिन्छ । गोने ङ्याको अवसरमा सैलुङ, कालिन्चोक, गोसाइकुण्ड, छेदिङ्मो, जैसुर, सिङ्ल्ह लगायतका स्थानहरुमा मेला लाग्ने गर्दछन् । त्यसैले गोने ङ्या भन्नाले भदौपूर्णेको दिन लाग्ने ज्ञान हस्तान्तरण उत्सव÷प्राकृतिक शिक्षाको दीक्षान्त समारोह भन्ने बुझिन्छ । यसरी तामाङ जातिको दर्शन र संस्कृतिको रुपमा विकसित गोनेङ्यामा मेला लाग्नुले सिङ्ल्हको ऐतिहासिकता प्रस्ट हुन्छ ।
अहिले सिङ्ल्हमा बोम्पो मेला मात्र नभएर युवायुवतीको भेला पनि हुने गर्दछ । युवतीहरूले मिठो मिठो खानेकुरा लगेर सबै बाँडीचुडी खान्छन् । स्वाँगे÷च्योन पर्नेलाई दिदीबहिनीले त्यही प्राप्त वस्तुहरूबाट माला बनाई लगाई दिन्छन् भने दाज्युभाइले गच्छेअनुसारको दक्षिणा दिने गर्दछन् । तिनीहरू गीत गाउने तथा नाच्ने गर्दछन् । बोम्पो कुङ्करमा प्रवेश गर्दा र बिदा गर्दा सोइ बोम्पो सोइ गरेर बुढाबुढी देखि बालबच्चासम्म उफ्रने गर्दछन् । जसले गर्दा मेला भर्न आउनुको रौनकता थपिन्छ, सबैमा उत्साह बढाइदिन्छ ।
सिङ्ल्ह ज्यादै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित छ । यस वरपरका भूमि, डाडा, रुख लगायतका प्राकृतिक सम्पदाहरु सबै सिङ्ल्ह म्हाने रहेको तर्फ झुकिरहेको छ । अग्लो स्थानमा रहेकोले यहाँबाट बेंशीको समथर मैदानी भाग देखि लेकको फाँट, चउर तथा खर्कहरू पनि देख्न सकिन्छ । लेकको चिसो सिरेटोसँगै लागिरहेको हुस्सुमाझ चउरभर सल्बलाइरहेका रङ्गीचङगी फुलहरूको दृष्यले जो कसैलाई मोहनी नलगाइ छाड्दैन । चिसो र झरी सहेर पनि केही नभएको आभाष दिलाउँदछ । बहुमुल्य जटिबुटीहरू पनि पाइन्छ । यहाँ आक्कलझुक्कल वाह्य पर्यटकहरू पनि आएको देखिन्छ । गणेशहिमाल ट्रेकिङ मार्गमा पर्ने सेर्तुङको च्यतबाट तिन घण्टाको बाटोमा पर्ने भएकोले थकाइ मार्न सिङ्ल्हमा दुई दिनसम्म क्याम्प गरेर बसेको पनि पाइन्छ । यहाँबाट पर्यटकहरु लापा गाविस हुदै गोरखा तर्फ लाग्छन् वा तिप्लिङ स्योम्दाङ हुदै रसुवाको तामाङ हेरिटेज ट्रेल पकड्दै धुन्चे पुग्दछन् ।
धादिङ जिल्लाको समग्र जानकारी दिने उद्देश्यका साथ भनी प्रकाशित पुस्तक धादिङ दर्पणमा झार्लाङ, सेर्तुङ, लापा, तिप्लिङ, सेम्जोङ र री मा गुम्बा मात्र फेला परियो भन्ने कथन असावधानीवस वा अध्ययनको अपूर्णताले गर्दा आएको देखिन्छ । यी नाम उल्लेखित गाविसहरूमा अझै पनि बोम्पो संस्कृति विद्यमान छ । त्यो अध्ययनमा तामाङ जातिसँग सम्बन्धित बोम्पो सम्प्रदायलाई समेट्न सकेको भए सिङ्ल्ह र सिङ्ल्ह जस्ता थुप्रै ऐतिहासिक कुङ्करहरू पाइने थिए । यसप्रकारका जानकारीहरूले हुनसक्छ कुङ्कर संरक्षण वा बोम्पोसँग सम्बन्धित तथ्यहरूको खोज अनुसन्धान हुन सकिरहेको छैन ।
यसरी आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने सिङ्ल्हको संरक्षण, प्रचारप्रसार हुनु आवश्यक छ । यसको लागि गाविस, जिविस तथा सरकारी निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरूको योगदान उल्लेख्य रहेको छ र रहिरहनेछन् । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ ।
सिङ्ल्हको बारेमा विभिन्न पत्रपत्रिकामा लेखहरू प्रकाशित भएका छन् । खासगरी स्थानीय सञ्चार माध्यममा यसबारेमा चर्चा चलेको पाइन्छ । साहित्य सिर्जनाको क्रममा पनि सिङ्ल्हलाई समेटेको पाइन्छ । धादिङ जिल्लाको सेमजोङ गाविसमा पनि सिङ्ल्ह भन्ने स्थान रहेको छ । त्यहाँ पनि बोम्पोहरु वङ्गुर लिने दिने गर्दछन् ।
अन्तमा
सिङ्ल्ह र ल्याक्चेकुण्ड, ल्अरी, पङ्सङ् न्यातास्हिप्ता
गाडी हुईक्याइ पुर्याउने दाउ अझै पाएको छैन ।

(लेखक तामाङ लोक साहित्यका अध्यता हुन् )