वालुवा निकासी बन्द हुंदा निर्माण कार्य ठप्प

1059 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4115धादिङ–गैर कानूनी ढंगवाट प्राकृतिक श्रोतको दोहन बढेको भन्दै सरकारले नदी र खोलाबाट वालुवा, ढुंगा गिटी उत्खनन,संकलन तथा निकासी गर्न बन्द गरेपछि निर्माण क्षेत्र नराम्रोसंग प्रभावित भएको छ ।
वालुवा, ढुंगा गिटी निकासी रोकिदिएपछि निर्माण सामाग्री बिक्री गर्दै आईरहेका व्यवसायीहरुको व्यवसाय सुनसान बन्न पुगेको छ । यसै गरी विभिन्न किसिमका निर्माण कार्यमा संलग्न सर्वसाधारण समेत समस्यामा पर्न थालेका छन ।
वालुवा,ढुंगा गिटी निकासी बन्द भएपछि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै जिल्लाका अन्य बजार क्षेत्रका साथै ग्रामीण भेगका सर्वसाधारण मारमा परेका हुन । वालुवा,ढुंगा गिटी निकासी बन्द भएपछि जिवन निर्वाहका लागि नदी तथा खोलामा भर पर्दै आईरहेका मजदुर र नदीजन्यश्रोतवाट संचालित व्यवसायका संचालकहरु प्रत्यक्ष प्रभावित बनेका छन । निकासी बन्द गरेपछि बनाउँदा बनाउँदैको घर वालुवा, गिटी अभावले बिचैमा छाड्नुपर्ने अवस्था आएको धादिङबेसी पुछारवजारमा घर निर्माण गरिरहनु भएका रमेश ढकालले वताउनु भयो ।
असार मसान्त सम्म धादिङ जिल्लावाट दैनिक एक हजार टिपको हाराहारीमा ढुङगा, गिट्टी, वालुवा काठमाण्डौं निकासी हुने गरेकोमा करिव एक महिना देखि निकासी ठप्प हुन पुगेको छ ।
उपभोक्ताले निर्माण सामाग्री खरिद गर्न नपाएपछि निर्माणसँग सम्बन्धित हार्डवेयर, रंङरोगनका व्यवसायीहरुसमेत दशैंको मुखमा आएर व्यवसायमा ठूलो असर परेको गुनासो गर्न थालेका छन । सरकारी निर्देशन पछि जिल्लाका अधिकांश मजदुर वेरोजगार हुन पुगेका छन । सरकारले अबैध रुपमा चल्दै आईरहेका ढुङगा, गिट्टी, वालुवा उत्खनन तथा प्रशोधन गर्ने उद्योगलाई कानूनी दायरामा ल्याउनका लागि समय दिदै आगामी भदौ अन्तिम सम्म सबै खाले निकासी वन्द गरिदिएको छ ।