इबोला नियन्त्रणका लागि विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली

579 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाण्डौं–इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया विहीवार देखि सुरु गरेको छ । जस अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा टोली खटाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण टोली (हेल्थ डेक्स) राख्न सुरु गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बताउनुभयो । मन्त्रालयले नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका अन्य सातवटा सीमा (नाका) पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने जनाएको छ । एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचारिका र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित टोलीमा रहने छन् । उपत्यका बाहिरका सीमा नाकामा अहिले सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई उपलब्ध जनशक्तिलाई परिचालन गर्न मन्त्रालयले परिपत्रसमेत गरिसकेको छ । मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्ड फ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरेको थियो । विभागका महानिर्देशक उप्रेतीले नाकाबाट आउने सबैको परीक्षण गर्ने कि शङ्कास्पदको मात्र गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । महानिर्देशक उप्रेतीले विश्व स्वास्थ्य सङ्गठनको नेपाल सदस्य देश भएकाले सङ्गठनको मार्ग निर्देशनअनुरूप इबोला प्रकोपविरुद्ध सामना गर्न नेपालले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई सरकारले तयारी अवस्थामा राखेको जनाएको छ ।