परिश्रमीलाई गजल प्रतिभा सम्मान, त्रिपाठीलाई पुरस्कार

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा – गजलकार डा. घनश्याम परिश्रमी गजल प्रतिभा सम्मानबाट सम्मानित भएका छन् भने यूवा गजलकार बाबु त्रिपाठी गजल प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाली गजलको विकास र उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै १ सय ४९ ओैं मोति जयन्तिको अवशर पारी गजल सन्ध्या पोखराले परिश्रमीलाई विषेश सम्मान र त्रिपाठीलाई पुरस्कृत गरेको हो । परिश्रमीलाई नेपाली गजलका एक अभियान्ता ज्ञानुवाकर पौडेलले दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए भने युवा गजलकार त्रिपाठीलाई गजलकार डा. घनश्याम परिश्रमी र डा.कृष्णहरी बरालले २ हजार २ सय २२ रुपैयाँ सहित पुरस्कार पुरस्कार प्रदान गरेका थिए ।
प्रमुख अतिथि तथा सम्मानित गजलकार परिश्रमीले नेपाली गजलमा अहिले यूवा पुस्ताको बलियो उपस्थिति रहेको बताउँदै गजलले नेपाली साहित्यमा एउटा राजमार्ग बनाइसकेको बताए । उनले बेलाबेलामा नेपाली गजलमा बिबादका हल्लाहरु आइरहने भएपनि गजलमा त्यस्तो कुनै बिवाद नभएको बताए । यस्तै गजलकार ज्ञानुवाकर पौडेलले नेपाली साहित्यमा गजलले आफ्नो हस्तक्षेप बढाएको बताए । यूवापुस्ताका बलिया गजलले यसको पुष्टी गर्ने बताए ।
यस्तै गजलकार डा. कृष्णहरी बरालले अरबी, पारसी, उर्दू, हिन्दी हुँदै नेपाल भित्रिएको गजल उदार बन्दै गएको बताए । उनले अहिले नेपाली गजल यस्तो बन्नुपर्छ भनेर भनिरहनु नपर्ने बताउँदै अहिले पाठक सचेत भैसकेको बताए ।
कार्यक्रममा प्रतिभा छनौट समतिका संयोजक दीपक समिपले प्रतिभा छनौट प्रकृयाका बारेमा जानकारी गराएका थिए । नेपालको कुनै पनि क्षेत्रमा रहेर गजलको उत्थान र उन्नयनमा योगदान पुर्याउने गजलकारहरु गजल प्रतिभा सम्मान र पश्चिमाञ्चलमा जन्मेका वा कर्मथलो बनाएका गजल कृति प्रकाशन गरेका गजलकारलाई गजल प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिए ।
कार्यक्रममा सन्ध्याका सल्लाहकार इश्वरमणी अधिकारी, रुपिन्द्र प्रभावी, संस्थापक अध्यक्ष दिलिप दोषि लगायतले सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरुलाई शुभकामना व्यक्त गर्दै नेपाली गजलमा पोखरा र गजल सन्ध्या पोखराले पुर्याएको योगदानको बिषयमा चर्चा गरेका थिए । गजल सन्ध्या पोखराले प्रत्येक बर्ष विभिन्न गजलकारहरुलाई पुरस्कृत गर्दै आएको अध्यक्ष उदिपराज ढुंगानाले बताए । साथै सोही कार्यक्रममा नियमित रचना वाचन कार्यक्रम समेत भएको थियो ।