रहरमा खुल्छन् रेडियो स्टेशन, चलाउन पर्छ धौ-धौ

754 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

fmसूचना र मनोरञ्जनको सहज माध्यम स्थानीय रेडियोको पहुँच सञ्चारमाध्यममध्ये सबैभन्दा बढी छ । प्रजातन्त्र पुनस्र्थापनापछि निजी क्षेत्रमा एफएम रेडियो खुल्ने क्रम बढेसँगै यसका श्रोता पनि ह्वात्तै बढे । खासगरी रहरैरहरमा खोलिएका एफएममा कुशल व्यवस्थापन अभावका कारण समस्या छ । आम्दानीको स्रोत एकदमै सीमित भएकाले आर्थिक अभाव झेलिरहेका छन् । विराटनगरबाट भीम घिमिरे, सुनसरीबाट प्रदीप मेन्याङ्बो, वेदराज पौडेल, पाँचथरबाट लवदेव ढुंगाना, ताप्लेजुङबाट आनन्द गौतम, ओखलढुंगाबाट कुम्भराज राई, झापाबाट चेतन अधिकारी, पर्वत पोर्तेल र सिरहाबाट देवनारायण साह लेख्छन् :

एक समय कान्तिपुर एफएमका कार्यक्रममा पूर्वबाट रामभरोस चुलबुलेका नाममा अत्यधिक फोन गर्ने विराटनगरका पंकजहरि शर्मालाई एफएमकर्मीसँगको भेटघाटले रेडियो खोल्ने रहर लाग्यो । पाञ्चालीस्थित घरैमा ‘हेलो’ एफएम खोले । एक वर्ष चलाएपछि बेचे ।

‘रेडियो चलाउन रहरले नहुने । योजना चाहिने, टिम चाहिने र आम्दानी दिगो बनाउन धेरै खट्नुपर्ने रहेछ,’ उनले भने, ‘बेचिहालियो । फेरि अर्को त्यस्तै योजनामा छु ।’ ००७ सालमै क्रान्ति गीत प्रसारण गरेर रेडियो बजेको उपमहानगरमा अहिले १० एफएम छन् ।

धेरैको सञ्चालन सुरुवातका कथा पंकजसँग मिल्दाजुल्दा छन् । रेडियो पूर्बेली आवाजका स्टेसन म्यानेजर विक्रम लुइँटेल भन्छन्, ‘मोरङमा १७ पुगिसके । केहीको अवस्था नाजुकै छ ।’ ०५६ मा खुलेको यहाँको पहिलो रेडियो कोसी एफएमबाट छुट्टएिका सन्देशदास श्रेष्ठले ‘बीएफएम’ सञ्चालनमा ल्याए । उनले भने, ‘चलाउने तरिका मेरो अलि फरक छ । बजार र रेट बिगारेर विज्ञापन लिन हुन्न । आफ्नो अडान राखे बजार बन्दै आउँछ ।’ बजार व्यवस्थापन चुस्त हुन नसकेका केही एफएम रहरका मात्रै भए । भरपर्दो आम्दानी नभएर विद्युत्, घरबहाल, कर्मचारी खर्च पुर्‍याउन संकट छ ।

अस्वस्थ प्रतिस्पर्धा

पाँचथर- ०६४ मा सुम्हालुङ एफएम स्थापित हुन नपाउँदै केही व्यवसायीले अर्काे खोल्ने सोच बनाए । कारण थियो, सुम्हालुङको सेयर खरिद गर्न नपाउनु । त्यसबेला सुम्हालुङले ‘लिम्बुवान’ को क्षेत्रीय राजनीतिबारे बढी प्राथमिकता थियो । ‘सन्तुलित समाचार अभावमा व्यावसायिक रेडियोले जन्म लिएको हो,’ सिंहलीला एफएमका तत्कालीन स्टेसन म्यानेजर तुलसी थापाले भने, ‘हामी लगानीकर्ताले पैसा थप्दै चलाउँछौं । लगानी उठोस् नउठोस् जेनतेन चल्दिए हुन्थ्यो ।’ फिदिममा तीनवटा एफएम छन् ।

सञ्चालकबीच बेमेल, टिमवर्क अभाव, कमजोर व्यवस्थापन, दक्ष जनशक्ति कमी, विज्ञापनको सीमितता र अस्वस्थ प्रतिस्पर्धाजस्ता कारण संकटमा छन् । प्रायः एकैखाले समस्यामा गुजि्ररहेका रेडियोमा महसुल बुझाउन नसक्दा पटकपटक टेलिफोन र बिजुली काटिन्छन् ।

‘स्थानीय समस्या र सन्दर्भमा पर्याप्त कार्यक्रम छैनन् । सुन्ने कि नसुन्ने भन्ने हुन्छ,’ गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष बालकृष्ण ओझाले भने । राष्ट्रिय रेडियोकै ढाँचाका कार्यक्रमले स्थानीय रेडियो छान्न श्रोतालाई मुस्किल परेको सुम्हालुङका अध्यक्ष दिलेन्द्र कुरुम्बाङले स्विकारे । ‘एफएमबीच समन्वय भएन,’ उनले भने, ‘गुणस्तर बढाउनुभन्दा अस्वस्थ प्रतिस्पर्धाबाट विज्ञापन तान्ने ध्याउन्नमा अवस्था खस्कँदै गएको हो ।’

इगल एफएम सञ्चालक याक्थुम्हाङ मिडियाका अध्यक्ष तेजकुमार कुरुम्बाङले भने, ‘लगानी उठ्ने सम्भावना छैन । खर्च धानेर चले भइगयो । सामाजिक प्रतिष्ठा र पहिचानका लागि घाटा भए पनि रेडियो चलाइन्छ ।’ २० लाख लगानीको सय वाटको सुम्हालुङमा सेयरधनी ७५ जना छन् । १० नियमित कर्मचारी राखेर सञ्चालन भइरहेको रेडियोको मासिक ५० हजार मात्र खर्च छ । आम्दानी पनि त्योभन्दा बढेको छैन । ‘बीबीसी र सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) लगायतबाट आउने सहयोगले चलिरहेको छ,’ व्यवस्थापक चन्द्र आङेम्बेले भने । ५० लाख लागतको सिंहलीलामा खर्च जति आम्दानी नहुँदा १० लाख लगानी थपिएको सञ्चालकले बताए ।

स्थानीय विज्ञापनको भर

ताप्लेजुङ

रेडक्रस शाखा सभापति टीकाराम गौतमको निधनमा ताप्लेजुङ एफएमले तीन वर्षअघि समवेदनाबाट ९५ हजार कमायो । प्रत्येक उपशाखा र संघसंस्थाले एकदेखि दुई हजारका दरले दिएको समवेदना सात दिन बजाउँदा कर्मचारीलाई तलब खुवाउन पुग्यो ।

उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष खतिवडा महासंघ केन्द्रीय सदस्य हुँदा बधाई दिनेबाट ५० हजार उठ्यो । निधन वा कसैको पदोन्नति भए एफएममा विज्ञापन दिने चलन छ । तत्कालीन मार्केटिङ म्यानेजर सुवास आचार्यका अनुसार शिक्षाका लयप्रसाद निरौला उपसचिव बन्दा एफएमबाट बधाई शुभकामना दिने शिक्षक सयभन्दा बढी थिए ।

‘पहिलेपहिले मार्केटिङ गर्न हिंड्नु पर्दैनथ्यो,’ उनले भने, ‘अहिले विज्ञापन घट्यो । बहुराष्ट्रिय कम्पनीका विज्ञापन आई नपुग्ने जिल्लामा लोकल एड खोजेरै खर्च धान्नुपर्छ ।’ १ लाख २७ हजार जनसंख्या भएको ताप्लेजुङमा तीन एफएम छन् । जिल्लाको पहिलो तमोर एफएमका स्टेसन म्यानेजर सजन पौडेलले भने, ‘आआफ्नो ढंगले चल्ने हो । मलाई रेडियो चलाउन समस्या लाग्दैन ।’

ऋण उकास्न धौधौ

धरान- ६ वर्षअघि ५० सञ्चारकर्मी, उद्योगी, व्यवसायी मिलेर धरानमा हजार वाटको विजयपुर एफएम सञ्चालनमा ल्याए । करिब ६० लाख लगानीको एफएम दैनिक १८ घन्टा घन्कँदा सेयर सदस्यदेखि रेडियोकर्मी सबै दंग थिए । अगि्रम पुँजीका आधारमा खुलेको एक वर्ष पछिमात्र सञ्चालकले रेडियोका मुख्य समस्या थाहा पाए । सानो बजार, विज्ञापन अभाव, अनुभवहीन व्यवस्थापन, सिकारु प्राविधिक र कार्यक्रम सञ्चालकमा देखिएको अपरिपक्वपनले चलाउन गाह्रो भएको विजयपुर मिडिया ग्रुपका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बताए ।

ऋण उकास्न रणनीति फेर्दै उक्त रेडियोमा हाल नयाँ व्यवस्थापनमा छ । स्टेसन म्यानेजर हिमाल राईले भनिन्, ‘स्थापित हुनुपर्नेमा उल्टै घाटामा जान थालेको थाहा पाएपछि कार्यसमितिका साथीहरूले मेरो हङकङमा हुँदाको १२ वर्षे रेडियो सञ्चालन अनुभवका आधारमा स्टेसन जिम्मा लगाए । केही सुधार गरेकी छु ।’ १७ कर्मचारीको तलब, विद्युत् महसुल र घरभाडा तिर्ने बेलामा धान्नै गाह्रो परिरहेको उनले सुनाइन् ।

धरानमा ५ एफएम रेडियो छन् । दन्तकाली एफएमका स्टेसन म्यानेजर दुर्गा भुजेलले भने, ‘स्थापना गरिहालियो, चलाउनै गाह्रो भो ।’ १० सेयर सदस्यको ३५ लाख लगानी भएको उक्त एफएम पनि संकटमुक्त छैन । उनले भने, ‘वर्षमा २५ लाख कमाइ, ३० लाख खर्च । अनि कसरी धान्ने, समस्या छ ।’ राजधानी केन्दि्रत विज्ञापन पाउन गाह्रो भएकाले पनि समस्या पर्ने उनको अनुभव छ ।

रेडियो धरानका अध्यक्ष लक्ष्मण श्रेष्ठको अनुभव पनि फरक छैन । उनले भने, ‘विज्ञापन निराशलाग्दो छ । चलाउनै गाह्रो भो ।’ एमाओवादी फुटेपछि धरानकै गणतन्त्र एफएम दुई समूह भएको छ । फुटेर गएको समूहले जनसन्देश एफएम चलाउने बताएको छ । गणतन्त्र एफएमका प्रबन्धक डेविड बस्नेतले भने, ‘माओवादीको एफएम भनेर सोचिदिनाले बजारमा अलि गाह्रो छ ।’ पछिल्लोपटक खुलेको हार्ट एफएम सात इसाइ धर्मावलम्बीको समूहले स्थापना गरेको हो । सञ्चालक अध्यक्ष हिमाल राईले भने, ‘व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’

पहाडदेखि हिमालसम्मै

ओखलढुंगामा आफ्नो र रमाइलो सामुदायिक हुन् भने रेडियो ओखलढुंगा व्यावसायिक हो । बेलायतको ‘फिभा रेडियो’ को सहयोगमा मानव विकास तथा सामुदायिक सेवा नामको संस्थाले चलाएको ‘आफ्नो एफएम’ नियमित बज्छ । ‘फिभाले सुरुमा चार वर्ष मात्रै सहयोग गर्छौँ भनेको थियो,’ स्टेसन म्यानेजर बिनुमाया राईले भनिन्, ‘उनीहरूले हात झिक्नेबित्तिकै रेडियो बन्द हुने स्थिति देखेपछि अहिलेसम्म सहयोग टुटेको छैन ।’ थप दुई रेडियो दर्ता भएर प्रसारणको तयारीमा छन् । जिल्लामा उद्योग कारखाना नहुनु र सानो बजार भएको ठाउँमा रेडियो चलाउनु चुनौती छ ।

सामुदायिक भनेर स्विस विकासको सहयोगमा स्थापित ‘रमाइलो’ मा पनि व्यवस्थापन अस्तव्यस्त छ । पारिश्रमिककै कारण कर्मचारी र पत्रकारले रेडियोको काम छाड्नु यहाँ नौलो छैन ।

सोलु एफएमबाट सुरु भएको सोलुखुम्बुमा हाल ६ वटा रेडियो छन् । हिमाल, दूधकोसी, शिखर, चोमोलुङमा, खुम्बुलगायत प्रसारणमा छन् ।

हिमाली सञ्चार लिमिटेडले सुरु गरेको खुम्बु एफएम संसारकै सबैभन्दा उँचो भागबाट बज्ने दाबीसमेत गरिएको छ । यो समुद्री सतहबाट १४ हजार फिट उचाइमा छ । यसका म्यानेजर भानुभक्त ढुंगानाले भने, ‘काम गर्न दक्ष जनशक्ति अभाव छ, अर्कातिर व्यावसायिक पनि बनाउन सकिएको छैन ।’

पत्रकारलाई महँगो पर्दै रहर

एफएममा आवाज सुनेका रेडियो प्रस्तोतालाई सेलिब्रेटी मान्ने युवापुस्ता आफू पनि रेडियोमा बोलेर अरूका लागि यस्तै बन्न चाहन्छन् । सेलिब्रेटी क्रेजका अगाडि पैसाको तुलनै नहुने भएकाले बिना पैसा रेडियोमा काम गर्न तयार हुनेहरू धेरै छन् ।

त्यसो त राजधानीमा चलेका एफएममा काम गरिरहेकामध्ये धेरैजनाका लागि जिल्लाबाटै काम गरेको अनुभवले बाटो खोलेको छ । हाल टेलिभिजन कार्यक्रम प्रस्तोता भएका झापा लखनपुरका भूपाल लुइँटेलले चार वर्षअघिका कुरा सम्झँदै भने, ‘मलाई रेडियो क्रेज यस्तो थियो, सप्तरंगी एफएममा दुई वर्ष पैसाबिना काम गर्छु भनेथें । यसो भन्नु गलत रहेछ । क्षमता बनाएर रेडियोमा प्रवेश गर्ने र सुरुकै दिनदेखि पारिश्रमिक लिनुपर्ने रहेछ ।’

एफएमलाई अत्यावश्यक खर्च जुट्छ । तर कार्यरत सञ्चारकर्मीलाई तलब दिन लेखापाल भन्छन्, ‘पैसा पुग्दैन ।’ यसमा काम दिने र लिने दुवै पक्ष जिम्मेवार भएको बानका पूर्वाञ्चल उपाध्यक्ष कुमार भट्टराई बताउँछन् । ‘काम दिनेले राम्रो दिने र लाउनेले पनि श्रमको मूल्य दिनैपर्छ ।’ दमकको सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरिराज भट्टराई भन्छन्, ‘आर्थिक रूपमा सुदृढ नभई रेडियोले पत्रकार-कर्मचारीलाई खुसी पारेर पाल्न सक्दैनन् ।

प्रतिवेदनले के भन्छ ?

सञ्चार मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको श्रमजीवी पत्रकारको पारिश्रमिक अध्ययन प्रतिवेदन २०७० ले एफएमको अवस्था कमजोर देखाएको छ ।  रेडियोका ६७.४ प्रतिशत सञ्चारकर्मीले मात्र महिनामा तलब पाउँछन् । दुई महिनामा एकपटक

तलब पाउने १३.३६ र दुई महिनाभन्दा बढी समयमा पाउने १२.६९ प्रतिशत छन् । श्रमजीवी पत्रकार ऐन (संशोधित २०६४) ले न्यूनतम तलब मासिक १० हजार ८ रुपैयाँ तोकेको छ । रेडियोका ४७.८८ प्रतिशतले न्यूनतमभन्दा कम पाउँछन् ।

‘व्यवस्थापन सुधारौं’

बानका केन्द्रीय अध्यक्ष गोपाल झाले अनियन्त्रित लाइसेन्स वितरण, स्रोतको असमान वितरण, समाचार र कार्यक्रमका लागि बढै गएको परनिर्भरता, व्यवस्थापनमा कमजोरी र कमसल प्रविधिका कारण रेडियोहरू धराशयी बन्दै गएको बताए । ‘४/५ हजार जनसंख्या भएका ठाउँमा बजारको अध्ययन नै नगरी ३/४ वटै रेडियो चलाउने स्वीकृति दिएको छ,’ उनले भने, ‘सूचना/मनोरञ्जनका क्षेत्रमा सबैभन्दा बढी लोकपि्रय र ग्रामीण क्षेत्रसम्म पहुँच भएका रेडियोलाई कम विज्ञापन छुट्याइनुले अझ समस्या पारेको छ ।’

नेटवर्कमा आबद्ध भएर काठमाडौंमा उत्पादन भएका समाचार र कार्यक्रम बजाउने पूर्ण रूपले आश्रति हुने स्थानीय रेडियोलाई आर्थिक रूपले कमजोर बनाएको उनको टिप्पणी छ । उनले भने, ‘स्थानीय रेडियोमा स्थानीय भाषा, समाचार, कार्यक्रमलगायत सामग्री नपाउँदा एकातिर यसले आफ्नो आवाजलाई कमजोर बनाइरहेको छ भने अर्कातिर स्थानीय रेडियोसम्म सानो हिस्सा मात्र सहयोग पुग्ने गरेको छ ।’

चलाउन धौ-धौ

सिरहा

आधा दर्जन सबै एफएम सिरहामा आर्थिक संकटमा छन् । समाद एफएमका सञ्चालक अध्यक्ष नन्दकिशोर चौधरीले भने, ‘दिगो रूपमा चलाउन वाषिर्क १५ रुपैयाँ बुझाउने हालसम्म २ हजार सदस्य बनाइसकेका छौं ।’

चट्याङ परेर ट्रान्समिटर जल्यो । सापटी गरेर नयाँ किनेकाले कर्मचारीलाई समयमा तलब दिन नसकेको सामुदायिक रेडियो सल्हेशका अध्यक्ष चन्द्रदेव कामतीले बताए । उनले भने, ‘कृषि विकास बैंकबाट लिएको १८ लाख ऋण तिर्न नसक्दा हैरानमा छौं ।’

नौजना व्यापारीले ३५ लाख लगानी गरी सुरु गरेको मिर्चैयास्थित रेडियो धडनमा वर्ष दिनमै ८ लाख घाटामा गयो । ६ जनाले सेयर फिर्ता लिए । प्रबन्धक तथा सञ्चालक अञ्जय साहले भने, ‘खर्च धेरै विज्ञापन कम हुनाले संकट पर्ने गरेको छ ।’ लहानमा सञ्चालित सामुदायिक रेडियो समग्र, सौगात र गोलबजारमा आकाशगंगा एफएमको पनि आर्थिक अवस्था धरमर छ । इटहरीका पाँचमध्ये एउटा एफएम बन्द भयो ।

‘प्रायः एफएमको अवस्था धराशयी छ,’ सप्तकोसी एफएमका म्यानेजर तथा ब्रोकास्टिङ एसोसिएसन नेपालका महासचिव चन्द्र न्यौपानेले भने, ‘सञ्चालनको आवश्यक पूर्वाधारबिनै सरकारले लाइसेन्स दिएपछि नयाँ खुलेकाको बिजोकै छ ।’

आर्थिक समस्याले पूर्वोदय एफएम बन्द भयो । झुम्का बजारमा रामधुनी र इनरुवामा पपुलर एफएम थपिए । ‘जो प्रतिस्पर्धामा खरो उही दह्रो । धेरै खुलेर केही हुन्न’, इटहरी एफएमका अध्यक्ष चेतन धमलाले भने, ‘मेहेनत नगरी खोल्नेबित्तिकै पैसा बर्सिन्छ भन्ने सोच राख्नु ठीक होइन ।’

संखुवासभाको खाँदबारीमा तीनवटा एफएम छन् । १३ लाख संकलन गरि सञ्चालनमा ल्याएको सामुदायिक रेडियो खाँदबारीका ३ सय ५१ सेयर सदस्य छन् । परीक्षण प्रसारण थालेको सुनाखरी रेडियोका प्रबन्ध निर्देशक वीरबहादुर लिम्बूले करिब ३० लाख लगानी गरेको बताए । करिब ४४ लाख संकलनपछि सञ्चालनमा आएको गुराँस एफएमका म्यानेजर गंगा बिष्ट आम्दानीको स्रोत भरपर्दो नभएको बताउँछन् ।

झापामा १६ एफएम छन् । केही दर्ता भएर प्रसारणको तयारीमा छन् । ८ लाख १२ हजार ५ सय ६० जनसंख्या भएको जिल्लामा यतिविघ्न एफएम आवश्यक हुन् कि होइनन् भन्ने वहस सुरु हुन थालेको छ ।

‘एफएम खोल्नका लागि आवश्यक पूर्वाधार, बजारको अवस्था र फ्रिक्वेन्सीको ख्याल नगरी लाइसेन्स बाँडा रेडियो सबभन्दा अव्यवस्थित क्षेत्र बनेको छ,’ कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले भने, ‘सफल व्यवसायी पनि रेडियोमा लगानी गरेर डुबेका छन् ।’

३७ लाख लगानीमा खुलेको सुरुङ्गास्थित रेडियो सन्देश तेस्रो वर्ष आइपुग्दा धान्नै हम्मे परेको छ । ‘एफएम नाफामा छैनन्,’ सञ्चालकमध्येका राजेन्द्र मैनालीले भने, ‘तीन वर्षमा खर्च करोड नाघ्यो । आम्दानीको हविगत नाजुक ।’

रहर र ‘प्रेस्टिज’ का लागि खुलेका झापाली धेरै रेडियोको हालत नाजुक छ । पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले भने, ‘अस्वस्थ प्रतिस्पर्धाले बजार बिगि्रएको छ । योजनाबिनै खुलेका रेडियोको हविगत दयनीय छ ।’ बिनायोजना प्रविधिमा ठूलो लगानी फसेपछि धेरैलाई निल्नु न ओकल्नु भएको उनले बताए । विर्तामोडमा मात्रै ७ एफएम छन् । पूर्वी नाका काँकडभिट्टादेखि दमकसम्मको करिब ४० किलोमिटर राजमार्ग क्षेत्रमा चोकैपिच्छे एफएम स्टेसन छन् ।

– कान्तिपुर