राजमार्गका होटलमा मनपरी मूल्य

666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

480X320_d397b04bf321b049bace11799acf2257सिम्ले, – यात्रुलाई लक्षित गरी राजमार्गमा खोलिएका होटलमा एउटै खाद्यवस्तुको फरकफरक र बढी मूल्य पाइएको छ । सादा खानाको ९० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म, मिनरल वाटरको १५ रुपयाँदेखि ३० रुपैयाँसम्म लिएको पाइएको हो । 
यसरी बढी मूल्य यात्रु तथा उपभोक्तासँग असुलेर होटल सञ्चालकले गाडी ड्राइभरलाई कमिसनबापत दिने गरेको स्वीकार गरेका छन् ।
बिहीबार वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा गरेको अनुगमनमा मनपरी मूल्य र कमिसन दिएको सञ्चालकले स्वीकार गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले जिल्लामा अनुगमन गर्दै आएका छन् ।
होटल सञ्चालक राजकुमार प्याकुरेलले भने नियमित अनुगमन गरेर होटल व्यवसाय सुधार गर्न दिएको सल्लाह, सुझाव र मौकाबाट सिकेर सुधारेको अझ सुधार गर्नुपर्ने पक्ष सुधार गर्ने अनुगमन टोलीलाई बताए ।
गोविन्दप्रसाद ढकालले सञ्चालन गरेको नमस्ते नेपाल होटलमा सबैभन्दा महँगो खाना बिक्री भएको पाइएको छ । सादा खानाको १ सय ५० रुपैयाँ लिएको उनले स्वीकार गरेका छन् । खाना महँगो हुनुको कारण ड्राइभरलाई दिने भत्ता नै भएको उनले बताए ।
अनुगमनका क्रममा विभिन्न होटलमा २० हजारबराबरको खान अयोग्य मिति नाघेका पेय पदार्थ नष्ट गरिएको थियो । माछा बजारको रूपमा परिचय बनाएको मलेखु बजारस्थित सपना होटल, मुक्तिनाथ होटल एन्ड लज, भद्रकाली होटल र मिलन होटलमा अनुगमन गर्दा सफाइ नभएको, राख्नुपर्ने तापक्रमभन्दा कममा माछा राखिएको, म्याद नाघेका पेयपदार्थ भेटिएपछि विभागले १ साताको म्याद दिएर चेतावनीपत्र थमाएको छ ।
म्याद भित्र सुधार नभए होटल बन्द गरिदिने वाणिज्य अधिकृत राजेन्द्र कार्कीले बताए । माइक्रो तथा बसलाई खाना–खाजा बेच्ने होटल कान्तिपुर, नमस्ते नेपाल, शुभकामना होटललाई पनि पत्र थमाउँदै १ साताको म्याद दिइएको खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्दले बताए । तोकिएको म्यादभित्र सुधार नभए स्थानीय प्रशासनले होटल बन्द गर्ने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले चेतावनी दिए ।
होटल मजदुर र सञ्चालकमा नम्रता आए पनि फरकफरक होटलमा फरकफरक मूल्य र लागत मूल्यभन्दा तेब्बर असुलेर यात्रुलाई ठगिरहेको अनुगमन टोलीसमक्ष यात्रुले गुनासो गरेका छन् कारोवार डेलि डट कमले खबर लेखेको छ ।