मादकपदार्थ सेवन गरी होहल्ला गर्नेलाई बाटो खनाइयो

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खोटाङ, ४ कात्तिक । खोटाङको च्यास्मिटारमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ ।

मादकपदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मिटार–४ दाल्फुमा जाँडरक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई बाटो खनाइएको हो ।

निषेधित क्षेत्रमा जाँडरक्सी बनाउने, खुवाउने र खानेलाई सजाय स्वरुप गाउँको गोरेटो बाटो मर्मत गराइएको स्थानीय सिर्जनात्मक एकता युवा समूहका अध्यक्ष रसकुमार राईले जानकारी दिनुभयो ।

समूहको आह्वानमा गाउँमा आयोजना गरिएको भेलाको निर्णयअनुसार मादकपदार्थ बनाउने, खुवाउने र खानेलाई कारबाही गरिएको समूहले जनाएको छ ।

उनीहरुलाई सोमबार गाउँकै सेरेम्पाबारीदेखि पाङ्ग्रा खोलासम्मको बाटो मर्मत गराइएको राईले बताउनुभयो । जाँडरक्सीको प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यसनी न्यूनीकरण गर्न समूहले गाउँमा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

गाउँमा खुलेआम बिक्रीवितरण हुने जाँडरक्सीका कारण समाजमा झैझगडा, होहल्ला तथा सामाजिक विकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादकपदार्थ निषेधको अभियान थालिएको समूहका सचिव खविराज राईले बताउनुभयो ।

आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यसहित समूहले गाविसका राजनीतिक दल, गाविस, प्रहरी चौकी, स्वास्थ्य चौकी, सङ्घसंस्था, विद्यालयलगायतको समर्थनमा कुलत विरुद्धको अभियान थालेको हो ।