नेपाल संवत् ११३५ को तयारी पूरा

519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, ४ कात्तिक । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले हरेक वर्ष झै यस वर्ष पनि नयाँ वर्ष नेपाल संवत् ११३५ भव्य रुपमा मनाउने भएको छ ।

प्रतिष्ठानले आज थिमिस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले नेपाल संवत् ११३५ को अवसरमा हरेक वर्ष झै यस वर्ष पनि कात्तिक ७ गते शुक्रबार बिहान ८ बजे थिमि शङ्खधर साख्वाः चोकस्थित शङ्खधर साख्वाःको सालिकमा प्रधानमन्त्री सुशील कोइरालाले माल्यार्पण गर्ने बताउनुुभयो ।

सोही दिन साख्वाःको सालिकसँगै रहेको जग्गामा निर्माण हुन लागेको शङ्खधर सङ्ग्रहालयको प्रधानमन्त्री कोइरालाले शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेललगायतले कार्यक्रम स्थलको अवलोकन गरी सुरक्षाको व्यवस्थाबारे छलफल गरेको प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले प्रतिष्ठान निर्माणका लागि नेपाल सरकारले रु ३५ लाख बजेट विनियोजन गरेकाले यस वर्षदेखि प्रतिष्ठानको भवन निर्माण कार्य सुरु हुने बताउनुभयो ।

नेपाल सरकार, मध्यपुरथिमि नगरपालिका, जिल्ला विकास समिति र अन्य निकायको सहयोगमा करिब रु दुई करोडको लागतमा भवन निर्माण गरिने भएको छ ।