दुई लाख समलिङ्गी तेस्रोलिङ्गी एचआइभी सङ्क्रमण जोखिममा

703 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – यौनिक तथा लैङ्गिक अल्पसख्यक समलिङ्गी तेस्रोलिङ्गीलाई एचआइभी सङ्क्रमण उच्च रहेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार करिब दुई लाख समलिङ्गी तेस्रोलिङ्गी एचआइभी सङ्क्रमणको जोखिममा देखिएको छ । नीलहिरा समाजको तथ्याङ्कअनुसार नेपालमा करिब पाँच लाख समलिङ्गी तेस्रोलिङ्गी छन् ।

समाजद्वारा बुधबार आयोजित कार्यक्रममा विज्ञ महेश शर्माले यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर ७० बाट दुई प्रतिशतमा झरे पनि समलिङ्गी तेस्रोलिङ्गीमा भने बढ्दै गएको बताउनुभयो । सेवा प्रदायकमा तिनलाई हेर्ने दृष्टिकोण सकारात्मक नबन्दा यो समुदायमा सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ थियो ।

समाजका कामु निर्देशक मनीषा ढकालले समलिङ्गी तेस्रोलिङ्गी भएकामा नै विभेद हुने गरेको बताउँदै एचआइभी सङ्क्रमित समलिङ्गी तेस्रोलिङ्गीले दोहोरो विभेद खेप्दै आएको बताउनुभयो ।

वीर अस्पतालका चिकित्सक सुशील शाक्यले समलिङ्गी तेस्रोलिङ्गीको उपचार सेवा सहज बनाउन चिकित्सकलाई तालिम दिइनुपर्ने बताउँदै सामाजिक एवम् पारिवारिक संरचनाका अनुसार समलिङ्गी तेस्रोलिङ्गीले आफ्नो पहिचान लुकाउने गर्दा सहज उपचार पाउन कठिन भएको छ भन्नुभयो ।