आयल निगमलाई दिइएको व्याज घटाइयो

524 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २४ कात्तिक । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले नेपाल आयल निगमलाई दिएको ऋणमा दुई प्रतिशत व्याजदर कम गरेकोे छ ।

सूचना विभागद्वारा आज सञ्चार मन्त्रालयमा आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता दीपकराज पाण्डले गत असोज १ गतेदेखि साविक १२ दशमलब ५ प्रतिशतबाट दुई प्रतिशत घटाई १० दशमलब ५ प्रतिशत व्याज कायम भएको जानकारी दिनुभयो ।

उहाँले गत असोज १३ गतेदेखि लागू गरिएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार हालसम्म तीनपटक कार्यान्वयन भएको पनि जानकारी दिनुभयो ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले यस वर्ष अन्नपूर्ण क्षेत्रमा भएको हिमपातको कारण १७ नेपाली र १७ विदेशीको मृत्यु भएको जानकारी दिनुभयो । सोही घटनामा ५२२ जनाको जीवितै उद्धार गरिएको, चार क्यानेडेली, दुई भारतीय र एक नेपाली नागरिक हराइरहेका छन् ।

उहाँले पर्यटन विभागबाट गत असोज समान्तसम्म १६९ टोलीलाई पर्वतारोहण अनुमति दिइएको, ५४६ होटल दर्ता अनुमति दिइएको, २१० घरबास, दुई हजार ५२३ ट्राभल्स एजेन्सीलाई इजाजत प्रदान गरिएको, एक हजार ८२० ट्रेकिङ एजेन्सीलाई इजाजत प्रदान गरिएको, ६० वटा र्याफ्टिङ एजेन्सी अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रवक्ता सापकोटाले सबैभन्दा कम अङ्क छ अर्ब २२ करोड (भ्याटबाहेक) कबोल गर्ने चाइना नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कनट्रक्सन ग्रुप रहेको जानकारी दिनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयका प्रवक्ता दामोदर भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा व्यवस्था भएबमोजिमको आयोगका पदाधिकारी सिफारिस गर्न सिफारिस समिति गठन भएको र सोही समितिले सिफारिससम्बन्धी कार्यविधि बनाई इच्छुक व्यक्तिहरूलाई आयोगका अध्यक्ष तथा सदस्यको पदमा सिफरिस हुनका लागि गोरखापत्रमा सूचना सार्वजनिक गरी दरखास्त सङ्कलन गरी छनौटसम्बन्धी काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले हेलो सरकारमा आएका गुनासाहरूको फछ्र्योट शतप्रतिशत भएको तथा रु ४२ करोड ३३ लाख २४ हजारमध्ये ८ दशमलब २४ प्रतिशत फछ्र्योट भएको तथा ८५ लाख ८२ हजार सम्परीक्षणको लागि लेखी गएको जानकारी दिनुभयो ।