चेपाङ गाउँमा विद्यालय भवन र मोटरबाटो एकैसाथ

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(प्रकाश सिलवाल)
(जोगिमारा), धादिङ, ३० कात्तिक । चेपाङ बालबालिका पढ्ने जलकन्या प्राथमिक विद्यालय अब पुरानो र जीर्ण दुई कोठे भवनमा सीमित रहने छैन, यहाँ छ कोठे नयाँ भवन बन्ने भएपछि बेग्लै खुशी छ ।
स्थानीय ताकाथलीका ६० घरधुरीका गरी करिव ९० जना अल्पसंख्यक समुदाय मानिने चेपाङ बालबालिका नयाँ भवन बन्ने खबरले दंग छन् । यसका साथै यस विद्यालयसम्म अब पृथ्वीराजमार्गबाट गाडी चढेर पनि पुग्न सकिने भएकाले विद्यार्थी र अभिभावकका दोहोरे खुशी छाएको छ ।
चार वर्षअघि एक रोपनी नौ आना जग्गामा निर्मित विद्यालयको पुरानो भवन भीरालो कान्लाहरूको बीचमा बनाइएकाले देख्दै डरलाग्दो थियो । त्यहाँ बालबालिकालाई खेल्ने मैदान र पुस्तकालय त के शिक्षक कर्मचारीका लागि अलग्गै कार्यकक्ष पनि थिए । भिरालो ठाउँको विद्यालय भवनका कारण निवर्तमान प्रधानअध्यापिका अप्सरा डल्लाखेती आधा दर्जन पटक त कुर्सीबाट लडेका घटना पनि विरानो भएको छैन ।
डल्लाखेतीकै कार्यकालमा थालिएका नयाँ भवन निर्माणका लागि सहयोग जुटाउने अभियानले अहिले सार्थकता पाएको छ । नेपालमा हालसम्म करिव ८० सामुदायिक विद्यालयको भवन निर्माण गरिसकेको एसियन फ्रेन्डसिप नेटवर्क (जापान) ले शनिबार विद्यालयलाई नयाँ भवनका लागि दस लाख रुपैयाँ दिने सम्झौता हस्तान्तरण भएको छ । सम्झौता लगत्तै नेटवर्कका अध्यक्ष इसिमारु योजुरीले भवनको शिलान्यास पनि गर्नुभयो । नेटवर्कका नेपाल अध्यक्ष गणेशमान लामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चेपाङबीच एक वर्षभित्र नयाँ भवन बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
“यस्तो ठाउँमा पनि मानिस बस्छन् र बालबालिका पढ्छन् भनेर मैले कल्पना पनि गर्न सक्दिनँ तर भीरपाखोका बाटो पछ्याउँदै आफै आइपुगेर हेरेपछि पत्याउन विवश भएँ ।” योजुरीले भन्नुभयो, “आजका नानीहरुले राम्रोसँग पढ्न पाएनन् भने उनीहरुको भविष्य बन्दैन, त्यसकारण हामी सघाउना आएका छौ, तपाईँहरुले पनि मेहनत गर्नुहोला ।”
नयाँ भवनका लागि सहयोग आउने आश्वासन पाएदेखि नै अभिभावकहरुले पुरानो भवन भत्काएर भीरालो जमीनलाई खारेर फराकिलो ठाउँ बनाइसकेका थिए । गत वैशाखदेखि सो विद्यालयका विद्यार्थी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेपाङको घरको आँगनमा पढ्न थालेका थिए । विद्यालयको यस्तो दुरावस्थाको अन्त्यका लागि नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले सरकार, पत्रकार र दातृ पक्षलाई गुहार्ने काम गर्दै आउनुभएको छ । गत मङ्सिर २८ गते सो विद्यालयमा भएको शिक्षा पत्रकारहरुको भ्रमणपछि त्यहाँको समस्या थप सार्वजनिक भएको थियो ।
विसं. २०६६ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिव ५० हजार रुपैयाँ र जनश्रमदानमा विद्यालय भवन भएको थियो । त्यसको एक वर्षपछि विद्यालयले अनुमति पाएको थियो भने शिक्षकका लागि बजेट निकासा हुन नसकेपछि केही समय पढाई नै बन्द हुन पुग्यो । अहिले स्थायी दरबन्दीसहित नयाँ प्रधानअध्यापक वासु सापकोटाले विद्यालयको प्राज्ञिक र प्रशासनिक नेतृत्व सम्हाल्नुभएको छ ।
उनीहरुलाई विद्यालयमा टिकाउन दिवा खाजा, छात्रवृत्तिलगायतका कार्यक्रम भने सरकारले सञ्चालन गरिरहेको छ । भवन र शिक्षकका लागि शिक्षा कार्यालयमा धेरै पटक धाउँदा पनि विद्यालयले राहत पाउन सकेको छैन ।
बाँकी शिक्षक र कर्मचारीको तलवका लागि ढुङ्गाखानी सञ्चालन गर्ने स्थानीय अन्नपूर्ण कोइरिन प्रालिले सम्भावित प्रभावको राहतका लागि वार्षिक एक लाख रुपैयाँ दिन्छ भने विद्यालयसम्म कच्ची बाटोको निर्माणमा पनि त्यस प्रालिले सघाएको छ ।
पछिल्ला समय चेपाङ बाबालिका विद्यालयको पहुँचमा आउन थालेपनि उनीहरुलाई भौतिक पूर्वाधार र बालमैत्री वातावरणको निर्माणमा सरकार र दातृ निकाय उद्धत देखिएका छन् । विसं. २०६८ सालको जनगणनाअनुसार नेपालका चेपाङ समुदायको जनसंख्या ६८ हजार छ भने यस जिल्लामा करिव १८ हजार छन् ।
जोगिमारा गाविसकै खोरभज्याङ्गको राष्ट्रिय माध्यामिकसम्म पुग्न साना विद्यार्थीलाई कठिन हुँदै आएको अवस्थामा आफ्नै गाउँमा विद्यालय खुलेपछि भर्नादर बढ्न थालेको भवन शिलान्यासमा पुगेका नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य कृष्ण डल्लाखेतीले बताउनुभयो ।
नेटवर्कको निमन्त्रणामा गत महिना शिक्षामन्त्री चित्रलेखा यादवसहितको नौ सदस्यीय टोली जापान पुगेर नेपालको शिक्षामा सहयोग गर्न आग्रह गरेको थियो । योजुरीको यस पटकको नेपाल भ्रमणमा नुवाकोट, रामेछाप, काभ्रपलान्चोकलगायतका जिल्लामा गरी दुई दर्जन विद्यालयको जग खडा गरिनेछ ।