महिलाकाे शरीरमा छाेए तीन महिना कैद

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं , ७ मंसिर– कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्नेसम्बन्धी विधेयक राष्ट्रपति रामवरण यादवले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।

उक्त विधेयक २३ कात्तिकमा व्यवस्थापिका–संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पेस भएको थियो । अन्तरिम संविधानको धारा ८७ बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।

ऐनको दफा १२ मा कसुरदारलाई घटनाको प्रकृति र कसुरका आधारमा दुवै सजायसमेत हुने व्यवस्था गरिएको छ ।

ऐनको परिभाषाअनुसार कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारीलाई कार्यस्थलमा यौन आसक्तिको व्यवहार प्रदर्शन गरे दुव्र्यवहार भएको मानिनेछ ।

यस्तै यौनजन्य आसयले शरीरमा छोए, अश्लील तथा यौनजन्य चित्र प्रदर्शन गरे, यौनजन्य क्रियाकलापको कुराकानी गरे दुव्र्यवहार भएको मानिनेछ ।
यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरे, जिस्क्याए वा हैरानी पारे, लेखेर, बोलेर वा इसाराले अश्लील यौनजन्य आसय प्रकट गरे पनि दुव्र्यवहार भएको मानिनेछ ।

ऐनको परिभाषाको व्यहोरा कुनै पनि कार्यालयमा आउने सेवाग्राहीको हकमा पनि लागू हुनेछ ।
नयाँ पत्रिकाबाट