अनौठो प्रचलन बोकेकी त्रिपुरासुन्दरी (सल्यानकोटकी भगवती)

1522 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पी.एल. तरङ्ग

10635723_10204720668884006_8860325559255549742_nकाठमाडौं । धादिङ्ग जिल्लाको सल्यानकोट गाविसमा मुख्य मन्दिर रहेको श्री त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिरमा यहि मंसिर १७ र १८ गते मेला लाग्दैछ ।  । नेपालको पहाडी क्षेत्रमा हुने धार्मिक मेला मध्ये सबैभन्दा ठूलो मेलाको रुपमा लिइने सो मेला भर्नका लागि राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लाका साथै मित्रराष्ट र अन्य देशहरुबाट समेत भक्तजनहरु त्रिपुरासुन्दरीको मन्दिर पुग्ने गर्दछन । पछिल्ला दिनका भगवतीको बारेमा राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा प्रचारप्रसार शुरु भएका कारण त्यहाँ पुग्ने भक्तजनहरुको संख्या विस्तारै बढ्न थालेको छ । पर्यटकीय दृष्टिकोणले पनि सो स्थान अन्त्यन्तै मनमोहक रहेका छ। त्यहाँबाट गणेशहिमाल, मनास्लु, माछापुच्छे हिमालको दृष्याबलोकन गर्न पाईन्छ ।

को हुन् सल्यानकोटकी भगवती ?

नेपाल एकीकरणकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाह गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्य छ । त्यहि क्रममा गोर्खाबाट धादिङ्ग हुँदै नुवाकोट आउने क्रममा अहिले भगवतीको मन्दिर रहेको सल्यानकोट गाविसस्थित गाउँको मन्दिर भएको ठाउँमा पृथ्वीनारायण शाह बासबस्नु भएको थियो । राति सपनामा हातमा खड्ग लिएकी एक बालिकाले उहाँलाई आर्शिवाद दिएको र त्यहाँबाट नुवाकोट आक्रमणमा जाँदा विजय भएपछि उनै राजाले त्यहाँ भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । यी सबै कुरा पृथ्वी नारायण शाहले आफ्नो दिव्योपदेशमा पनि उल्लेख गर्नुभएको छ

भगवतीको स्वरुप एक, तर पुजा ३ वटा मन्दिरमा

विशेष त कुनै देवी देवतालाई वर्षौभरी एउटै मन्दिरमा राखेर पुजा गर्ने प्रचलन रहेको छ । तर सल्यानकोट गाविसमा रहेकी त्रिपुरासुन्दरी भवगतीलाई वर्षभर विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ ।मंसीरको विशेष तिथिमा भगवतीलाई सल्यानकोट गाविसस्थित पश्चिम कोटमा रहेको मन्दिरबाट धुमधामका साथ आगिन्चोक गाविसस्थित मन्दिरमा भित्र्याउने प्रचलन रहेको छ । भगवतीलाई बेसीको मन्दिरमा ४ महिनाजति राखेर पुजा गरिन्छ । अनि फागुनको अन्तिमतिर विशेष साईत हेरेर फेरि गाउँकै मन्दिरमा लगेर भित्र्याउने प्रचलन रहेको छ । गाउँको मन्दिर अन्र्तगत सल्यानकोट गाविसको पूर्वपट्टिरहेको कोटमा समेत भगवतीलाई केही समय राखेर पुजाआजा गर्ने चलन छ । विजयादशमीको घटस्थापनादेखि चर्तुर्कीसम्म र चैत्रेदर्शैका बेला माई भगवतीलाई पूर्वीकोटमा विराजमान गराईन्छ । यसरी हरेक मन्दिरमा विशेष समयमा राखेर पुजा गर्ने प्रचलन छ ।विजयादशमीको घटस्थापनादेखि चर्तुर्थी सम्म र चैत्रेदर्शैका बेला माई भगवतीलाई पूर्वीकोटमा विराजमान गराईन्छ । यसरी हरेक मन्दिरमा विशेष समयमा राखेर पुजा गर्ने प्रचलन सम्भवत नेपालकै अनौठो र विरलै भेटिने प्रचलन होला ।

ग्रामीण महिलाको विगतको बाध्यतासँग भगवतीको सवारी जोडिएको प्रशंग

विगतमा गाउँमा बस्ने महिलाहरुको दैनिकी निक्कै व्यस्त हुने गर्दथ्यो । अधिकांश समय आफ्नो कर्मघरमै बसेर काम गर्नुपर्ने हुन्थ्यो । अनि हिउँदमा काम अलि कम हुने फुर्सदीलो समय भएकाले महिलाहरु माइती जाने र फेरि केही समय बसेर घर फर्कनुपर्ने हुन्थ्यो । अनि फेरि दशैंसम्म घरकै कृषिजन्य काममा व्यस्त हुने गर्दथे । दशैंका बेला उनीहरु टिकाटाला गर्नका लागि आफ्नो मामाघर जाने चलन थियो । त्यसैगरी भगवतीको अहिलेको बेसीको मन्दिरलाई भगवतीको माइती घरसँग तुलाना गर्दै भगवतीको सवारी सवारीलाई माइत गएको भन्ने जनकिंवन्दीपनि छ । अनि चैत्रदेखि असोजसम्म फेरि घरायसी काम र कृषि काममा ग्रामीण महिलाहरु व्यस्त हुने भएकोले उनीहरु माइत, मामाघर गर्न पाउँदैनन्, यही प्रसँगलाई आधार मान्ने हो भने भगवतीको पुजा आजा चैत्रदेखि असोजसम्म गाउँको पश्चिम कोटको मन्दिरमा हुन्छ । अनि ठूलो दशैं र चैते दशैंको बेला आफन्तकोमा जाने तथा मामाघर टिकाटाला गर्न जाने प्रचलनसँग भगवतीको पूर्वी कोटमा हुने पुजाआजालाई जोड्ने गरिएको छ । यसरी हेर्दा पनि त्रिपुरासुन्दरी भगवतीसँग निक्कै रोचक प्रसंग जोडिएको छ ।

कसरी पुग्ने भगवतीको मन्दिर सम्म ?

काठमाडौंबाट जानेहरुका लागि बालाजुको माछोखरीस्थित धादिङ्गबसपार्कबाट भगतीको मन्दिरसम्म पुग्ने डाइरेक्ट गाडीको व्यवस्था छ । बेसीको मन्दिरमा जाने भक्तजनकहरुले काठमाडौंबाट धादिङ्गबेसी,;टारीबेसी,गणेशस्थान हँदै अघि बढ्ने जुन गाडीमा गएपनि भगवतीको मन्दिर नजिकै पुग्न सक्नेछन् । त्यसो त टारीवेसीबाट सल्यानटार हुँदै अन्यत्र जाने गाडीमा गएको खण्डमा भने टारी बेसीमा झरेर हिँडेरै गएपनि कम्तीमा ३० मिनेटमा भगवतीको मन्दिरमा पुग्न सकिन्छ । यस्तै गाउँको मन्दिरमा जानचाहना भक्तजनहरुका लागि भने काठमाडौं;धादिङ्गबेसी,टारीबेसी,सल्यानटार वा गोलाङ्ग हुँदै बेलुङ्ग जाने जुनसुकै गाडीमा चढ्न सक्नेछन् । बेसीको मन्दिरमा जाने गाडीभाडा केही कम छ भने गाउँको मन्दिरमा जाने गाडी भाडा केही बढि छ । साक्षात् भगवतीको रुप मानिने त्रिपुरासुन्दरी भगवतीको मन्दिर पुगेर जीवनमा कम्तीमा एकपटक पुजाआजा गरे मनले चिताएका सकारात्मक कुराहरु सबै पुरा हुने जनविश्वास छ ।

-जनपुकार डट कमवाट