धादिङ जिल्ला सदरमुकाममा कपडा पसल भित्रै मासु पसल

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_6407 - Copyधादिङ ,१० मंसिर- धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा सञ्चालित अधिकांश मासु पसलहरु लामो समय देखि दर्ता बिना नै सञ्चालन भईरहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालय धादिङले बुधवार धादिङबेसीका एघारवाट मासु पसल अनुगमन तथा गुणस्तर चेकजाँच गर्दा यस्तो भेटिएको हो ।
सदरमुकाममा सञ्चालित मासु पसलहरु धेरै जसो दर्ता बिना नै सञ्चालन गरिएको पाईनुका साथै कपडा पसल र किराना पसलमा समेत मासु पसल चलिरहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताउनु भयो । दर्ता भएका पसलले पनि मासु बिक्री बितरणका लागि पुरा गर्नुपर्ने आधारभुत मापदण्ड पुरा नगरेको पाईएपछि ति पसलका संचालकलाई सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनु भयो ।
सदरमुकाम जस्तो जनचाप धेरै भएको स्थानमा संचालित मासु पसलहरुवाट खुल्ला ठाउंमा राखेर बिक्री तथा वितरण भइरहेका मासु मानव स्वास्थ्यका लागि हितकर नभएको पाइएको जिल्ला पशु सेवा कार्यालयका डाक्टर शिखा तिवारीले वताउनु भयो । पटक पटकको अनुगमन र निर्देशन पछि पनि अटेर गरिरहेका तीन वटा मासुपसलेलाई तत्काल व्यवसाय दर्ता गर्न, कपडा पसल र किराना पसलमा राखेर चलाएको पसल तत्काल अन्यत्र सार्न निर्देशन दिईएको डाक्टर तिवारीले वताउनु भएको छ । पुछारवजार गणेशमार्गमा रहेको कपडा पसल भित्रै संचालित मासु पसल तत्काल हटाउन निर्देशन दिईएको पनि डाक्टर तिवारीले वताउनु भयो ।
जिल्ला पशु सेवा कार्यालय धादिङको अगुवाईमा पशु प्रसार तथा पशु स्वास्थ्य नियमन कार्यक्रम अन्र्तगत बुधवार विहान जिल्ला सदरमुकाममा रहेका मध्ये ११ वटा मासु पसलको अनुगमन गरिएको हो । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा र तोरण पराजुली, बरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत, डाक्टर शिखा तिवारीका साथै विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा बजारमा अझै सम्म पनि मासु पसलमा राम्रो चिस्यानको व्यवस्था नभएको, उचित बधशाला नभएको तथा मासु बिक्री गर्ने ठाउँमा फोहोर पाइएकोले त्यस्ता पसललाई सचेत गराईएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख भगतले जानकारी दिनु भयो ।
अझै पनि बजारमा सञ्चालित अधिकांश मासु पसलहरुले मासु पसलको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको अनुगमनमा संलग्न डा. शिखा तिवारीले बताउनुभयो । पटक पटक अनुगमन भइरहेका कारण बजारमा बिक्रि हुने मासु पहिलाको भन्दा केही राम्रो भएपनि अझै मानव स्वास्थ्यको लागि अनुकुल बन्न नसकेको डाक्टर तिवारीको भनाई छ । पटक पटक अनुगमन गरी चेतावनी दिँदा पनि मापदण्ड अनुसार पसलहरु सञ्चालन नगर्ने मासु पसलहरु अव नसुध्रिए वन्द गराउनेसम्मको कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।